विराटनगर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर फिल्डिङ रोजेको लुम्बिनीलाई चितवनले ७ ओभरमा १४२ रन बनाएको हो । चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। लगातार दुई अर्धशतक प्रहार गरेका इंग्लिस ब्याटिङ अलराउन्डर बोपाराले अन्तिम ओभरमा गुल्बादिन नइबको बलमा क्याच हुनुअघि ६६ रन बनाए । उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
उनले कर्णाली याक्सविरूद्धको खेलमा ५२ रन बनाएका थिए। अघिल्लो सिजन उनले तीन अर्धशतक प्रहार गरेका थिए। दुवै सिजनमा गरी पाँच अर्धशतक बनाइसकेका बोपरा सर्वाधिक रन बनाउने ब्याटरको शीर्षमा पुगिसकेका छन्। उनले गत सिजन २८६ रन बनाएका थिए। यो सिजन बोपराले २ खेलमा ११८ रन प्रहार गरिसकेका छन्।अघिल्लो सिजन जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक रन बनाएका थिए।
त्यसअघि चितवनका ओपनिङ ब्याटर डविन मलान शून्यमा आउट भएका थिए। उनी इनिङग्सको दोस्रो बलमै लुम्बिनीका नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानबाट बोल्ड भएका थिए।
अर्का ओपनर दीपक बोहराले १२ रनमा १० रन मात्र बनाउन सके। देव खनाल १९ बलमा १४ रन र कुशल मल्ल १८ बलमा २१ रन बनाएर पेभिलियन फर्के। सइफ जइबले ७ बलमा २ चौका र १ छक्काको मद्दतमा १५ रन बनाए। लयमा देखिएका लुम्बिनीका ट्रम्पलम्यानले कुशल र सइफलाई पनि क्याच गराएका थिए।
अर्जुन साउदले नटआउट ८ रन जोड्दा अन्तिम बलमा आउट भएका सोहेल तन्विरले ५ रन बनाउन सके। बलिङमा लुम्बिनीका ट्रम्पलम्यानले ३ विकेट लिए। उनले ४ ओभरमा २३ रन दिए। अभिषेस गौतम र गुल्बादिन नइबले २(२ विकेट हात पारे।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!