विराटनगर । झापा र मोरङबाट फरार अभियुक्तसहितम पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको अलग दुई स्थानबाट दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको फैसला कार्यान्वयन गर्ने क्रममा ३ महिना कैद र दुई सय रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी ४३ वर्षीय ईश्वर मैनाली पक्राउ परेका छन् ।
उनी कनकाई–३, बुद्धचोकबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी सहायक निरीक्षक रामेश्वर सुनरैत यादवको कमाण्डमा तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले मैनालीलाई उनकै घरबाट पक्राउ गरेको हो ।
त्यस्तै चोरी मुद्दामा ७ महिना कैद तथा पाँच हजार जरिवाना तोकेर फरार रहेका जोसेफ किसनपनि पक्राउ परेका छन् । उनी मेचीनगर ९ बाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उत्तम कटुवाल र इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी सहायक हवलदार पुष्प बास्कोटाको कमाण्डमा खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उनीहरू दुवै जनालाई जिल्ला अदालत झापा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यता इलाका प्रहरी कार्यालय रानीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका मोरङ केराबारी ७ निवासी ३१ वर्षीय रामबहादुर तामाङ, केराबारी ५ का ३३ वर्षीय मोहन राई र ३२ वर्षीय मिलन तामाङलाई इकाई प्रहरी कार्यालय रानीबाट प्रहरी हवलदार प्रभुनाथ प्रसाद चौहानको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई रानी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको मोर प्रहरीले जनाएको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!