सिमरामा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, प्रदर्शनकारीलाई वार्ताको लागि आह्वान

सिमरामा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, प्रदर्शनकारीलाई वार्ताको लागि आह्वान

जनकपुर । कर्फ्यु अवज्ञा गर्दै बाराको सिमरामा प्रदर्शन चर्किएपछि प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको छ ।

जेनजीका समूहले राजमार्ग बन्द गरेपछि खुलाउन गएका प्रहरीसँग झडप भएको थियो । झडपपछि सिमरामा सशस्त्र र नेपाल प्रहरी व्यापक रूपमा परिचालन गरिएको छ ।

प्रदर्शनकारी र प्रहरीबीच बिहीबार पनि झडप भएको छ । घटनामा आधा दर्जन प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीतर्फ भने प्रहरीको लाठी चार्जबाट २ जना घाइते भएको जेनजीका संयोजक सम्राट उपाध्यायले बताए ।

कर्फ्यु उल्लंघन गरी प्रदर्शन जारी छ । मिरामा बुधबार भएको झडपको विषयलाई लिएर बिहानदेखि नै तनाव भएको हो । जेनजीले प्रदर्शन चर्काउन थालेपछि दिउँसो पौने १ बजेदेखि कर्फ्यु लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार बिहीबार दिउँसो १२ः४५ देखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ । पथलैयादेखि दक्षिण जितपुरको ललका पुलसम्म राजमार्गको ५ सय मिटर दाँयाबाँया र एयरपोर्ट क्षेत्रको ५ सय मिटर आसपास कर्फ्यु छ ।

बुधबार जेनजी र एमाले कार्यकर्ताबीच भएको झडपमा ६ जना जेनजी समूहका घाइते भएका थिए । घटनापछि जेनजी युवाहरुले आफूहरुमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए । उनीहरु पक्राउ नपरेको भन्दै बिहीबार प्रदर्शन भएको हो ।

यसैबीच बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई वार्ताको आह्वान गरेका छन् । जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्नुपर्ने भन्दै उनले वार्तामा बस्न आह्वान गरेका हुन् । प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय सिमरामा वार्ता हुनुपर्ने अडान राखेका छन् ।

बुधबार एमाले बाराले आयोजना गरेको मधेश प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्न जाने क्रममा पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलगायतलाई रोक्न भन्दै जेनजी समूहले विरोध गरेपछि स्थित बिग्रिएको थियो । विरोधका कारण पोखरेल र बस्नेत सिमरा जानै नपाई त्रिभुवन विमानस्थलबाटै फर्किएका थिए । स्थिति तनावग्रस्त भएपछि बुधबार पनि विमानस्थल आसपासका क्षेत्रमा कर्फ्यू लगाइएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा एमालेका कार्यकर्ता र जेनजी समूहबीच भएको झडप र त्यसपश्चात् उत्पन्न तनावपूर्ण परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ३ गते भएको उक्त घटनाको सुक्ष्म अनुगमन गरिरहेको बताएको छ ।

आयोगका अनुसार एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालको मधेश प्रदेशस्तरीय कार्यक्रम र स्थानीय जेनजी समूहको विरोध प्रदर्शन एकै समयमा जुध्न जाँदा झडपको स्थिति सिर्जना भएको थियो। सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको सन्दर्भमा यस्ता हिंसात्मक घटना हुनु दुःखद भएको आयोगले जनाएको छ।

आयोगले शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारलाई निर्देशन दिएको छ। आयोगले सबै पक्षलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न तथा संयमता अपनाएर स्थितिलाई सामान्यीकरण गर्न आग्रह गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्