विराटनगर । भारतको बिहारमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेडको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का नेता चुनिएका नितिश कुमारले आज बिहीबार १० औं पटक मुख्यमन्त्रीको सपथ लिँदै छन्।
विगत १९ वर्षदेखि अकण्टक शासनमा रहेका ७४ वर्षीय नितिश कुमारले दसौं पटक मुख्यमन्त्रीको शपथ लिने कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् । पटनाको ऐतिहासिक गान्धी मैदानमा साढे ११ बजे सपथ ग्रहण समारोह आयोजना हुँदैछ।
सन् २००५ देखि अहिलेसम्म नितिश कुमारले गान्धी मैदानमै तीन पटक मुख्यमन्त्रीको सपथ लिइसकेका छन्। उनी यसपालि चौथो पटक यही स्थानबाट पदबहाली गर्दैछन्। समारोहमा तीन लाखभन्दा धेरै मानिस उपस्थित हुने अनुमान गरिएको छ।
हालै सम्पन्न विधानसभा चुनावमा दुईतिहाइ बहुमत प्राप्त गरेपछि नितिश कुमारले करिब दुई दशकदेखि चलाउँदै आएको नेतृत्वलाई निरन्तरता दिन लागेका हुन्। उनले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएर गभर्नर अरिफ मोहम्मद खानलाई भेट्दै एनडिए सरकार गठनको दाबी पेस गरेका थिए।
नितिश कुमार सन् २००० मा पहिलो पटक मुख्यमन्त्री बनेका थिए।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!