विराटनगर । बाराको सिमरामा आज उत्पन्न तनावबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अराजक व्यवहार लोकतान्त्रिक प्रणालीमा स्वीकार्य नहुने बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै उनले भनेकी छन्, `बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद छ। म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन।’
युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई सरकारले गम्भीरतापूर्वक लिएको उनले बताइन्। तर अभिव्यक्ति स्वतन्त्रताको सम्मान राज्यको प्रतिबद्धता भएको उल्लेख गर्दै उनले सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध सिर्जना गर्ने गतिविधि वा कानुन हातमा लिने क्रियाकलाप स्वीकार्य नहुने चेतावनी दिइन्।
प्रधानमन्त्रीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति र सुव्यवस्था कायम गर्न, राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनलाई निष्पक्ष तथा भयमुक्त बनाउन उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिएकी छन्।
उनले लोकतान्त्रिक प्रक्रियामार्फत मात्रै युवाहरूको अपेक्षा पूरा हुनसक्ने भन्दै सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक मार्गप्रतिको विश्वास कायम राख्न अपिल गरेकी छन्।
जेनजी युवाहरुले एमालेका नेताहरुलाई अवरोध गर्ने प्रयासस्वरुप सिमरा क्षेत्रमा बुधबार प्रदर्शन गरेका थिए । सो क्रममा झडप हुँदा स्थानीय प्रशासनले कर्फ्यु नै जारी गरेको थियो ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!