बारा घटनाबारे गृहमन्त्रालय गम्भीर, परिस्थिति साम्य बनाउन सहयोगको अपिल

बारा घटनाबारे गृहमन्त्रालय गम्भीर, परिस्थिति साम्य बनाउन सहयोगको अपिल

विराटनगर । बाराको सिमरामा आज दिउँसो भएको घटनाप्रति गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै परिस्थिति सामान्य बनाउन सबैलाई अपिल गरेको छ ।

घटनापछि सिर्जित अवस्थालाई नियन्त्रणमा ल्याई स्थिति सामान्य बनाउने कार्य स्थानीय प्रशासनले गरिरहेको बताउँदै गृहमन्त्रालयले सरकार मुलुकमा शान्ति व्यवस्था तथा अमनचयन कायम गर्दै तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउने प्रतिबद्ध रहेको उल्लेख छ । सो उद्देश्य पूरा गर्न सबै पक्षको सहयोग आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले राजनीतिक, सामाजिक तथा सार्वजनिक कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरी मर्यादापूर्वक सञ्चालन गर्न आग्रह गरेको छ। शान्तिपूर्ण अभिव्यक्ति र जमघटका संवैधानिक हक प्रयोग गर्दा संयमता, संवाद, समन्वय र सहमति अपरिहार्य रहेको मन्त्रालयको भनाइ छ।

‘शान्तिपूर्ण तरिकाले कार्यक्रम सञ्चालन गर्न तथा संवैधानिक हकको प्रचलनका लागि सबै पक्ष गम्भीर हुनु आवश्यक छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्