विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आफ्नो नवौँ पूर्ण बैठकका निर्णयहरू समेटेर ‘अन्तर कमिटी निर्देशन–११’ (अपानी) जारी गरेको छ। मङ्सिर १ गते अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा बसेको बैठकले कारबाही, मनोनयन, आर्थिक सङ्कलन र महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरेको हो।
जारी ‘अपानी’को मुख्य बुँदाहरू :
१. नेताहरूमाथि कारबाही र स्पष्टीकरण
बैठकले अनुशासन उल्लङ्घन गरेको भन्दै केही नेताहरूलाई कारबाही गरेको छ :
- द्वारिकलाल चौधरी (निलम्बन): इटहरीका निवर्तमान मेयर तथा प्रदेश कमिटी सदस्य चौधरीले पार्टी नीति र नेतृत्वविरुद्ध अराजक गतिविधि गरेको भन्दै कमिटीबाट हटाउँदै ६ महिनाका लागि पार्टी सदस्यता समेत निलम्बन गरिएको छ।
- पदमुक्त: झापाका ध्रुव सिवाकोटीलाई नैतिक पतन हुने अभियोगमा अदालतबाट दोषी ठहर भई जेल सजाय भएकोले र प्रदेश सल्लाहकार मनोरथ तिवारीलाई ‘जेनजी’ आन्दोलनको नाममा पार्टी विरोधी गतिविधिमा लागेको भन्दै पदमुक्त गरिएको छ।
- स्पष्टीकरण: सुनसरीका बद्रीविशाल पोखरेल र काशीनाथ दंगाललाई सामाजिक सञ्जालमा पार्टी हित विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको छ।
२. पार्टी प्रवेश गर्नेलाई जिम्मेवारी
नेकपा एकीकृत समाजवादी र संघीय समाजवादी छाडेर एमाले प्रवेश गरेका मणि भण्डारी (झापा), मानसिंह पोखरेल (संखुवासभा) र धर्मराज राई (धनकुटा) लाई कोशी प्रदेश कमिटी सदस्यमा मनोनयन गरिएको छ।
३. आर्थिक सङ्कलन र लेबी निर्धारण
‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड भएको पार्टी कार्यालय पुनर्निर्माण र बाढी–पहिरो पीडितको राहतका लागि एमाले कोशीले जनप्रतिनिधि र पार्टी कमिटीका सदस्यहरूबाट आर्थिक सङ्कलन गर्ने निर्णय गरेको छ। मङ्सिर १० गतेभित्र रकम पठाउन तोकिएको दररेट यसप्रकार छ:
- भूमि आयोग अध्यक्ष: रु. २०,०००
- भूमि आयोग सदस्य: रु. १५,०००
- अन्य राजनीतिक नियुक्ति पाएका: रु. १०,०००
- प्रदेश सभा सदस्य, पालिका प्रमुख र जिसस प्रमुख: रु. ५,०००
- उपप्रमुख/उपाध्यक्ष: रु. ४,०००
- प्रदेश कमिटी सदस्य (न्यूनतम): रु. ३,०००
यस्तै, २२ जना नेताहरूले स्वघोषणा गर्दै जनही २० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको अपानीमा उल्लेख छ।
४. महाधिवेशन प्रतिनिधि छनोट
पार्टीको आसन्न ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड तय गरिएको छ:
- जिल्लाहरूले ‘अपानी–१३’ पूर्ण रूपमा लागू गर्दै सकेसम्म सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गर्नुपर्नेछ।
- सर्वसम्मत हुन नसके निर्वाचन प्रक्रिया अपनाउन निर्देशन दिइएको छ।
- प्रतिनिधि हुन चाहनेले पार्टीको अनलाइन अभिलेखमा व्यक्तिगत विवरण अद्यावधिक गरेको हुनुपर्नेछ।
५. संयुक्त बैंक खाता सञ्चालन
पार्टी कार्यालय पुनर्निर्माणको कारोबार गर्न कृषि विकास बैंक विराटनगरमा खाता खोल्ने निर्णय भएको छ। उक्त खाता केन्द्रीय सदस्य जीवन घिमिरे, प्रदेश सचिव नरेन्द्र बराल र मोरङ जिल्ला सचिव सोमराज थापा मध्ये कुनै दुई जनाको हस्ताक्षरबाट सञ्चालन हुनेछ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!