एमालेले आफूमाथि गरेको कारबाही पूर्वाग्रह भएको द्वारिकलाल चौधरीको प्रतिक्रिया

एमालेले आफूमाथि गरेको कारबाही पूर्वाग्रह भएको द्वारिकलाल चौधरीको प्रतिक्रिया

विराटनगर । एमाले कोशी प्रदेश कमिटीले ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेपछि इटहरीका निवर्तमान मेयर तथा एमाले नेता द्वारिकलाल चौधरीले आफूलाई ‘महाभारतका विदुर’ सँग तुलना गर्दै एमाले नेतृत्वलाई जवाफ फर्काएका छन्।

कारबाहीको निर्णय बाहिरिएलगत्तै प्रतिक्रिया दिँदै चौधरीले आफूमाथि गरिएको कारबाही शासक वर्गको पूर्वाग्रह मात्र भएको र केन्द्रीय कमिटीले आफूलाई ससम्मान फिर्ता बोलाउने दाबी गरेका छन्।

चौधरीले आफ्नो कारबाही प्रकरणलाई महाभारतको कथासँग जोडेका छन्। उनले भने, ‘विदुरले सत्य कुरा गर्दा धृतराष्ट्रले हस्तिनापुर छोडेर गइहाल भनेका थिए। तर, पछि संकट पर्दा विदुरलाई नै फिर्ता बोलाउनुपर्यो। मलाई पूर्ण विश्वास छ, पार्टीले यो कारबाहीको सिफारिस खारेज गरेर मलाई जिम्मेवारीमा फर्काउनेछ।’

उनले पार्टी र संगठनको हितमा कुरा गर्दा वा सत्य बोल्दा सत्ता र शक्तिमा रहेका शासक वर्गलाई सधैँ अप्रिय लाग्ने गरेको तर्क गरे। ‘कहिलेकाहीँ उनीहरूकै हितको कुरा गर्दा पनि शासकलाई तीतो लाग्छ,’ चौधरीले भने, ‘यो निर्णय नेतृत्वमा रहेका केही साथीहरूको मप्रतिको राजनीतिक पूर्वाग्रह र दुराग्रहको उपज हो। प्रदेशलाई कारबाही गर्ने अधिकार छैन, यो सिफारिस मात्र हो ।’

चौधरीले कोशी प्रदेश कमिटीको निर्णय अन्तिम नभएको जिकिर गरेका छन्। उनले विधानतः प्रदेश कमिटीले कारबाहीको सिफारिस मात्र गर्न सक्ने र त्यसलाई माथिल्लो कमिटीले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुने तर्क अघि सारे।

‘तल्लो कमिटीले अनुशासनको विषयमा सिफारिस मात्र गर्न सक्छ,’ चौधरीले भने, ‘मैले पार्टी वा जनविरोधी के काम गरेँ भन्ने कुराको पुष्टि हुनुपर्छ। अनुशासन कमिटी र केन्द्रीय कमिटीको बहुमतले अनुमोदन नगरेसम्म यो निर्णय लागू हुँदैन।’

चौधरीले पार्टी महाधिवेशनको प्रक्रिया र तिथि मिति तोकिसकिएको अवस्थामा कुनै पनि सदस्यलाई अन्तरपार्टी जनवादको उपभोग गर्नबाट वञ्चित गर्न नमिल्ने बताए। ‘महाधिवेशनको मुखमा प्रतिनिधि छनोट लगायतका प्रक्रिया सुरु भइसकेका छन्। यस्तो बेला केन्द्रीय कमिटीबाट जिल्ला र प्रदेशलाई कारबाही रोक्न र सबैलाई प्रक्रियामा सहभागी गराउन निर्देशन आउनेमा म ढुक्क छु,’ उनले भने ।

चौधरीले आफूले गरेको आलोचना र गतिविधिहरू जायज रहेको र ती पार्टी सुदृढीकरणकै लागि भएको भन्दै केन्द्रीय नेतृत्वले प्रदेशको निर्णयलाई सदर नगर्ने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष केपी ओलीविरुद्ध किन बोल्नु भएको थियो भन्ने प्रश्नमा उनले आलोचना गर्नु पार्टीविरोधी कुरा नभएको दाबी गरे। उनले अन्य दर्जनौं नेताहरुले पनि बोलिरहेको अवस्थामा आफूलाई मात्र कारबाही गरिनु उचित नहुने बताए।

उनलाई नेकपा एमाले कोशी प्रदेश कमिटीको मंसिर १ गते बसेको बैठकले पार्टीको जिम्मेवारीबाट मुक्त गरेको थियो । चौधरीलाई ६ महिनाका लागि पार्टी सदस्यता समेत निलम्बन गर्ने निर्णय गरेको एमालेले जनाएको छ । सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा पार्टी नीति र नेतृत्वविरुद्ध अराजक गतिविधि गरेको आरोप चौधरीमाथि छ । चौधरीसहित अन्य ५ जना नेतालाई एमालेले कारबाही गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्