मकालु बेस क्याम्प पुगेका एक पदयात्रीको मृत्यु

मकालु बेस क्याम्प पुगेका एक पदयात्रीको मृत्यु

संखुवासभा । मकालु बेस क्याम्प क्षेत्रमा घुम्न पुगेका एक पर्यटकको मृत्यु भएको छ।

दोलखा जिल्ला मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको स्वास्थ्य समस्या आएपछि सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक मेघराज अर्याल नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको थियो। बुधबार हेली एभरेस्टको हेलिकप्टरमार्फत कार्कीको शव मकालु बेस क्याम्प नजिकैबाट उद्धार गरिएको हो।

उनलाई लेक लागेको अनुमान गरिएको प्रहरीले बताएको छ।उद्धार गरिएको शव सोही हेलिकप्टरद्वारा पोष्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पताल दुवाकोट पठाइएको प्रहरीले जनाएको छ।

मकालु क्षेत्रमा पछिल्ला दिनमा पर्यटक तथा पदयात्रीको आवागमन बढेसँगै यस्ता आकस्मिक घटनाले सुरक्षात्मक सावधानी थप आवश्यक भएको प्रहरी अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्