दमकमा लुटिएका हतियारसहित पाँचथरबाट एक जना पक्राउ

दमकमा लुटिएका हतियारसहित पाँचथरबाट एक जना पक्राउ

विराटनगर । झापाको दमकस्थित इलाका प्रहरी कार्यालयमा जेनजि आन्दोलनका क्रममा लुटिएका २ थान हतियार र गोलीगठ्ठा पाँचथरमा फेला परेका छन् ।

उक्त घट्नामा सल्गन एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र प्रहरीको हातहतियार लुटपाट गरी फरार रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले विशेष सूचनाका आधारमा मंसिर २ गते दिउँसो करिब १:३० बजे दमक नगरपालिका वडा नं. ०६ बाट जिल्ला पाँचथर, मिक्लाजुङ गाउँपालिका वडा नं. ०३ बस्ने २२ वर्षीय सुशील फियाक (लिम्बु) लाई पक्राउ गरेको हो।

प्रारम्भिक सोधपुछका क्रममा फियाकले हतियारहरू पाँचथर जिल्लाकाे मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटे लामागाउँस्थित एउटा ओडारमा लुकाई छिपाई राखेको बताएका थिए। त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलीले हातहतियार तथा गोलीगठ्ठाहरू बरामद गरेको छ ।

म्याग्जिन सहितको 303 मार्क 3 राईफल १ थान र म्याग्जिन नभएको बट र ह्यान्ड ग्रिप जलेको अवस्थामा रहेको इन्सास राईफल १ थान प्रहरीले नियन्त्रणमा लिएकाे हाे । यस्तै इन्सासको जंगी राउण्ड १ थान र एसएलआरको जंगी राउण्ड थान नियन्त्रणमा लिएकाे झापा प्रहरीले जनाएकाे छ । पक्राउ परेका सुशील फियाक (लिम्बु) लाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्