विराटनगर । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले अध्ययन अनुसन्धानसँगै सामाजिक उत्तरदायित्वमा पनि जिम्मेवार हुनुपर्ने मनमोहन प्राविधिक विश्वविद्यालयका पदाधिकारीहरूले आग्रह गरेका छन् ।
आइतवार बुढीगंगा-४ हात्तिमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालयमा स्कुल अफ इन्जिनियरिङद्वारा आयोजित सिभिल इन्जिनियरिङतर्फका स्नातक (बिई) मा भर्ना भएका २०८२ साल समूहका नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरण गर्ने क्रममा पदाधिकारीले यस्तो बताएका हुन् ।
मनमोहन विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले विश्वविद्यालयमा अध्ययन गरेर इन्जिनियर बनिसकेका विद्यार्थीहरू केवल नाफामुखी मात्रै बनिरहेमा समाजसँगै देशको विकास पनि तीव्र रूपमा हुन नसक्ने बताए । उनले “धेरै पैसा खर्च गरी पढ्यौ, सित्तैमा कसैको काम किन गर्ने” भन्ने सोच त्यागेर आफ्नो समाज र प्रदेशका लागि पनि उत्तरदायी भएर आफ्नो समाजप्रति उत्तरदायी भएमात्र असल इन्जिनियर बन्न सक्ने बताए । उपकुलपति पोखरेलले विद्यार्थीहरूलाई अभिमुखीकरण गर्दै भने, ‘मनमोहन विश्वविद्यालयमा पढेका विद्यार्थी नाफामुखी मात्र हुनुहुँदैन, समाजप्रति उत्तरदायी भएर पूर्वाधार निर्माणमा आफ्नो समाज, पालिका र सरकारलाई सहयोग पनि गर्नुपर्छ ।’
इन्जिनियरिङ गाह्रो विषय भएपनि लक्ष्य लिएर अध्ययन गरेमा सफल हुन सकिने भन्दै नयाँ सोच राखेर निरन्तर मेहनत गरेर पढ्न उपकुलपति पोखरेलले विद्यार्थीलाई आग्रह गरे । “हनुमानले पढेर थोडै पहाड उचालेको हो र” भन्दै एक सेमेस्टरमा फेल हुँदैमा हरेस नखाई सधैँ मेहनत गरेर पढ्न विद्यार्थीलाई आग्रह गरे ।
स्कुल अफ इन्जिनियरिङका डीन डा. रेखा श्रेष्ठले कोशी प्रदेशमा पूर्वाधार विकासको प्रचुर सम्भावना रहेको तर आफ्नै प्रदेशका दक्ष इन्जिनियरहरूको अभाव भएकोले मनमोहनबाट उत्पादित प्राविधिक जनशक्तिलाई दिगो रोजगारीको कुनै समस्या नहुने बताइन् । मनमोहनले प्रदेशका उद्योगहरूसँग पनि सम्बन्ध बढाएकोले उत्पादन भएका इन्जिनियरहरूलाई रोजगार दिलाउन विश्वविद्यालयले पहल पनि गर्ने बताइन् । उनले दक्ष इन्जिनियरहरूले निरन्तर नयाँ प्रविधिको ज्ञान र सीपसहित अपडेट हुनुपर्ने र व्यवहार र अनुशासन (आचारसंहिता) पालनामा खरो उत्रन विद्यार्थीहरूलाई आग्रह गरिन् । डिन रेखाले भनिन्, ‘तपाईंहरूलाई अनुसन्धानसहित सीपयुक्त शिक्षा दिएर दक्ष इन्जिनियर बनाउन विश्वविद्यालय प्रतिबद्ध छ, तर असल हुने प्रयास भने तपाईंहरूले नै अनुशासन पालना गरेर गर्नुपर्छ ।’
उत्प्रेरक व्यक्ति सेवक बजगाईंले इन्जिनियरिङ पढ्ने विद्यार्थीहरू सधैँ सक्रिय र ऊर्जाशील हुनुपर्छ भने । उनले पहिले नै निर्धारित दिमाग लिएर पढ्नेभन्दा सृजनशील विद्यार्थी नै दक्ष र असल इन्जिनियर बन्न सक्ने बताए । उत्प्रेरक बजगाईंले विद्यार्थीहरूलाई भने, ‘असल र दक्ष इन्जिनियर बन्न चाहनेहरूमा सधैँ खोज्ने, सिक्ने र सम्भावनाको खोजी गर्ने हुटहुटी हुनुपर्छ ।’
विश्वविद्यालयका संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले अरूभन्दा कम बजेट र नयाँ भएपनि मनमोहनमा स्थापनादेखि नै समयमै पढाइ, परीक्षा र रिजल्ट हुने गरेकोले विद्यार्थीको लगानी र समय कदापि खेर जाँदैन भने ।
कोशी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले सिभिल र इलेक्ट्रिकलतर्फ पाँचौँ ब्याचका विद्यार्थी भर्ना लिएको हो । मनमोहनले इन्जिनियरिङसँगै अस्पताल व्यवस्थापन, औषधि विज्ञानमा स्नातक र कानुनमा स्नातकोत्तरसम्मको पढाइ सुरु गरिसकेको छ । चाँडै थप विभिन्न विषयमा स्नातकोत्तर र पीएचडीतर्फको पढाइ पनि सुरु गर्ने योजना तयार गरेको छ । मनमोहनले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पताल बनाउन कोशी प्रदेश सरकारको अनुमति पाएर प्रक्रिया पनि सुरु गरिसकेको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!