धरान । सुनसरीको धरानस्थित डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालन हुँदै आएको यु–१२ अन्तर–स्कुल फुटबल प्रतियोगिता ‘ललित अम्बर फुटबल कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप’को २०औँ संस्करण आगामी मंसिर २५ गतेदेखि सुरु हुने भएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयले प्रतियोगितासम्बन्धी तयारी र व्यवस्थापनबारे जानकारी दियो।
कक्षा ५ सम्मका १२ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित यस प्रतियोगिताले बालप्रतिभा पहिचान, विद्यालयबीच सद्भाव वृद्धि र ग्रासरुट तहमै फुटबल प्रतिभा उत्पादन गर्ने उद्देश्य राख्दै विगत दुई दशकदेखि निरन्तरता पाउँदै आएको छ। खेल संयोजक खड्ग शम्सेर लिम्बुले प्रत्येक वर्ष प्रतियोगिताले नयाँ प्रतिभा उजागर गर्दै आएको बताए।
विद्यालय व्यवस्थापन समिति सदस्य सूर्य पन्धाकका अनुसार विद्यालयहरूले नाम दर्ता गर्ने क्रममा सबैभन्दा छिटो दर्ता हुने १६ टोलीलाई प्राथमिकता दिइनेछ। पहिलो खेलमा पराजित हुने टोलीहरूलाई पनि प्रतिस्पर्धाबाट बाहिर नहुने व्यवस्था मिलाइँदै ‘प्लेट च्याम्पियनसिप’ अन्तर्गत खेलाइने उनले स्पष्ट पारे।
प्रतियोगितामा विजेता टोलीले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता, तेस्रो, प्लेट च्याम्पियन र प्लेट रनर–अपले पनि ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्रसँगै आकर्षक नगद पुरस्कार पाउनेछन्।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!