विराटनगर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बाराको सिमरामा भएको हिंसात्मक झडपलाई देशको भविष्यको लागि एक खतरनाक संकेतको संज्ञा दिँदै यसलाई केवल एउटा ‘कास्टिङ’ मात्र भएको टिप्पणी गरेका छन् । उनले देशमा गहिरिँदो संकटलाई नजरअन्दाज गर्दै चुनावको रट लगाउने राजनीतिक दलका नेताहरूप्रति कडा व्यङ्ग्य गर्दै चुनाव हुनेमा नै आशंका व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बुधबार स्टाटस लेख्दै नेता भण्डारीले सिमराको घटनाले देशमा बढ्दै गएको असहिष्णुता र सम्भावित द्वन्द्वको चित्र देखाएको बताए । उनले दलहरूभित्र चुनावका लागि देखाइएको हतारोलाई ‘अपरिपक्व’ र ‘अदूरदर्शी’को संज्ञा दिएका छन् ।
‘हाम्रो पार्टीभित्र पनि चुनाव–चुनाव भन्दै बुरुक–बुरुक गर्ने साथीहरू भेटिनुहुन्छ, मानौं देशमा भएको कहालीलाग्दो उद्वाद खुरुक्क चुनाव गराएर सत्ता हस्तान्तरण सजिलै हुन्छजस्तो गरी,’भण्डारीले लेखेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतको कार्यक्रमलाई लिएर सिमरामा बुधबार उत्पन्न तनावपूर्ण स्थितिपछि आएको छ । ‘जेनजी’नामको समूह र एमाले कार्यकर्ताबीच भएको झडपले उग्र रूप लिएपछि स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन दिनभरका लागि कर्फ्यु लगाउनु परेको थियो ।
नेता भण्डारीले सिमरा घटनालाई एक स्थानीय विवादको रूपमा मात्र नहेरी यसलाई देशव्यापी रूपमा फैलन सक्ने राजनीतिक अस्थिरता र अराजकताको पूर्वसंकेतको रूपमा व्याख्या गरेका छन् ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!