काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ आफ्नै पूर्व सहकर्मीहरूको घेराबन्दीमा परेको भन्दै तीखो व्यङ्ग्य गरेका छन् । ओलीले लामो समय एमालेमा रहेर हाल प्रचण्डसँग सहकार्य गरिरहेका नेताहरूलाई ‘आफ्ना साथी’ को संज्ञा दिँदै उनीहरूले नै माओवादी पार्टीलाई विघटनको दिशामा लगिसकेको दाबी गरेका छन् ।
नेकपा एमाले स्थानीय विकास विभागले बुधबार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड संकटमा परिसकेको र अब त्यसको परिणाम देखिने बताए । उनले प्रचण्डले एकताको नाममा ‘अहंकारी’मान्छेहरू थुपारेको आरोप लगाए ।
‘एकताको नाममा नचाहिँदो काम नगर्ने खालका मान्छे, अहंकारले भरिएका मान्छे थुपारेर प्रचण्डले अब देख्छन्,’ओलीले भने, ‘एक ढंगले भन्ने हो भने म खुसी छु। दोस्रो, तेस्रो, चौथो हुँदै छैटौं तहसम्मका नेता मेरै साथी हुन्। अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन् ।’
उनको यो संकेत लामो समय एमालेको नेतृत्व पंक्तिमा रहेका र हाल नेकपा (एकीकृत समाजवादी) मा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल जस्ता नेताहरूतर्फ थियो । ओलीले यी नेताहरू प्रचण्डका लागि ‘ट्रोजन हर्स’ साबित भएको आशय व्यक्त गर्दै थपे, ‘मेरा साथीले त प्रचण्डलाई घेरिसके । माओवादी पार्टी विघटन गराइसके, माओवादी पार्टी सिध्याइसके ।’


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!