विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । प्रसाईंले सार्वजनिक गरेको एक भिडियोको विषयलाई लिएर सरकारले उनलाई पक्राउ गरेकोमा ओलीले आपत्ति जनाएका हुन् ।
नेकपा एमाले स्थानीय विकास विभागले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रसाईंले सार्वजनिक गरेको भिडियोबारे प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जवाफ दिनुपर्ने बताए ।
‘दुर्गा प्रसाईंले एउटा भिडियो निकाल्यो, दिउँसो निस्कियो, मध्यरातमा पक्राउ । यो सरकारसँग त्यस भिडियोको जवाफ छ कि छैन ? प्रसाईंलाई दिने जवाफ प्रधानमन्त्री र गृहमन्त्रीसँग छ कि छैन ? यत्तिकै पुलिस पठाएर समस्याको समाधान हुन्छ ?’, ओलीले प्रश्न गरे ।
ओलीले भिडियोमा उठेका प्रश्नको जवाफ दिनुको साटो सरकारले पक्राउ गरेर गल्ती गरेको बताए । उनले भने, ‘के हो त्यो रु एआईले बनाएको त होइन होला रु प्रश्न उठायो कसैले, भएको भिडियो देखायो भने त्यस प्रश्नको जवाफ दिने कि थुन्ने ?’
प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले भदौ २४ गतेको आन्दोलन भड्काउने काम गरेको दाबीसहित प्रसाईंले भिडियो सार्वजनिक गरेपछि उनी सोमबार राति पक्राउ परेका थिए ।
अध्यक्ष ओलीले प्रसाईंलाई तुरुन्त रिहा गर्न माग गर्दै अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताए ।‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्त छाड्नुस्, बोल्नै नपाइने पनि हुन्छ ? मानव अधिकार आयोगले भनेको छ, बोलेबापत पक्राउ गरियो भनेर,’ ओलीले भने ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!