भोजपुर । भोजपुरको पौवादुङमाका ५२५ परिवारको घरको फुसको छानो हटाएर गाउँपालिकाले जस्तापाताको छानो वितरण गरेको छ ।
गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो ।
गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर जस्तापाताको छानो वितरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । गाउँपालिकामा आवेदन दिएका ६९९ घरमध्ये ५२५ परिवारको घरको छानो फेरिएको छ ।
यो वर्षसम्म सबै परिवारको छानो फेर्ने काम सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । यो कार्यको लागि १ करोड २० लाख रुपैयाँको ठेक्का गाउँपालिकाले खोलेको छ ।
छानो फेर्नको लागि गाउँपालिकाले २ आर्थिक वर्षमा गरी २ करोड ५० लाख रुपैयाँ खर्च गरिसकेको छ । गाउँपालिकाभित्रका मापदण्डमा परेका मध्येबाट ६ वटै वडाका गरिब, विपन्न, ज्येष्ठ, एकल महिला तथा दलित परिवारलाई प्राथमिकतामा राखेर छानो हटाउने काम भइरहेको छ ।
नागरिकको सबैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरूलाई सहज र सुरक्षित रूपमा बास बस्न सक्ने वातावरण निर्माणको लागि काम गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । स्थानीय सरकारको अभिभावकत्व प्रदान गर्न निःशुल्क जस्तापाताको छानो दिएको उनको भनाइ छ ।
आगलागीको जोखिम, मनसुनमा हुने चुहावटको समस्या र आगालागिका कारण बर्सेनि हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिएको हो । यसले नागरिकमा एकरूपतासँगै फुसको छानोको कारण वनमा लागेको आगो बस्तीमा पस्दा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
अभियानअन्तर्गत वडा नं. १ श्याशिलाका १३१, वडा नं. २ तिवारी भञ्याङका ७१, वडा नं. ३ च्याङ्ग्रेका १०६, वडा नं. ४ बास्तिमका १०४, वडा नं. ५ सोनादुम्का १३२ र वडा नं. ६ ठूलोदुम्माका १५५ परिवार गरी ६९९ परिवारले जस्तापाताको छानो पाउनेछन् ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!