यसरी चल्थ्यो बब्लुको ‘क्यारिङ’ : काठमाडौंसम्म पुग्थ्यो कपडा

यसरी चल्थ्यो बब्लुको ‘क्यारिङ’ : काठमाडौंसम्म पुग्थ्यो कपडा

विराटनगर । विराटनगरको कपडा बजारमा एकछत्र राज गर्दै आएका चर्चित व्यापारी बब्लु अग्रवालको अवैध कारोबारको साम्राज्यमा प्रहरीले एकैदिन दुई स्थानमा सफल ‘अपरेसन’ चलाएको छ।

भारतको जोगबनी नाकाबाट भन्सार छली गरी ल्याइएका लाखौं मूल्यका कपडा बरामद गर्दै प्रहरीले तस्करीको एउटा ठूलो सञ्जाल तोड्न सफल भएको छ। यद्यपि, यो अवैध कारोबारका मुख्य योजनाकार मानिएका अग्रवाल भने प्रहरीको नियन्त्रणबाट नाटकीय ढंगले उम्कन सफल भएका छन्।

जिल्ला प्रहरी कार्यालय, मोरङले उच्च सुराकीका आधारमा यो कारबाही अगाडि बढाएको हो। मोरङ प्रहरी प्रमुख, एसपी कवित कटुवाल आफैंले नेतृत्व गरेको विशेष टोलीले मंगलबार बिहान विराटनगर एयरपोर्टको कार्गो क्षेत्र र विराटनगर–४ स्थित एक घरमा छापा मारेको थियो। प्रहरीका अनुसार, अग्रवालले जाडो मौसमलाई लक्षित गरी तस्करी गरेर ल्याइएका महँगा कुर्ता–सुरुवाल र साडी काठमाडौं पठाउने तयारी गरिरहेका थिए।

विशेष सूचना पाएपछि प्रहरी टोलीले पहिलो निशाना विराटनगर एयरपोर्टको कार्गो परिसरलाई बनाएको थियो। अग्रवालले काठमाडौं पठाउनका लागि तयार पारेका दुईवटा ठूला बोरामाथि प्रहरीले निगरानी गरिरहेको थियो। सुनसरीको देवानगञ्ज गाउँपालिका–७ बस्ने मनिष यादवले प्रदेश १–०४–००२ प ६५४० नम्बरको स्कुटरमा ती बोराहरू ल्याएर विमानस्थलको कम्पाउन्डभित्र छाडेका थिए। प्रहरीले शंकास्पद गतिविधि देख्नासाथ नियन्त्रणमा लिने प्रयास गर्दा यादव स्कुटर छाडेर फरार भएका थिए।

तत्काल प्रहरीले ती बोराहरू खोलेर जाँच गर्दा ८९ थान ‘उनी’ ब्रान्डका उच्च गुणस्तरका कुर्ता–सुरुवाल फेला पारेको थियो। बरामद गरिएका कपडाको बजार मूल्य प्रतिथान ४ देखि ५ हजार रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ। जसअनुसार एयरपोर्टबाट मात्रै करिब १ लाख रुपैयाँ बराबरको सामान बरामद भएको छ।

एयरपोर्टको सफलतापछि, प्रहरी टोलीले सूचनाको स्रोतलाई पछ्याउँदै विराटनगर–४ स्थित शारदा अग्रवालको घरमा छापा मारेको थियो। शारदा बब्लुकी आमा हुन्। प्रहरी पुग्दा त्यहाँ तस्करीका कपडा प्रदेश १–०४–००१ च १४५१ नम्बरको पिकअप गाडीमा लोड गरिँदै थियो। प्रहरीले तत्काल गाडी र त्यसका चालक, विराटनगर–४ बस्ने तनवीर मुस्ताकिनलाई नियन्त्रणमा लियो।

घरभित्र खानतलासी गर्दा प्रहरीले थप कपडा बरामद गर्‍यो। एसपी कटुवालका अनुसार बब्लुको घरबाट कुर्ता–सुरुवाल ४६ थान, कटन कुर्ता–सुरुवाल ३० थान बरामद गरेको छ । प्रहरीले तस्करीमा प्रयोग भएका दुवै सवारीसाधन, प्रदेश १–०२–००१ च १४५१ नम्बरको सेतो पिकअप र प्रदेश १–०४–००२ प ६५४० नम्बरको कालो स्कुटर पनि नियन्त्रणमा लिएको छ। दुवै स्थानबाट बरामद गरिएका कपडाको कुल बजार मूल्य लाखौंमा पुग्ने देखिन्छ।

यसरी चल्थ्यो बब्लुको ‘क्यारिङ’
प्रहरीको प्रारम्भिक अनुसन्धानले अग्रवालको तस्करीको शैलीबारे रोचक तथ्यहरू उजागर गरेको छ। उनी लामो समयदेखि सुनसरीका विभिन्न सीमा नाका प्रयोग गरेर भारतको जोगबनीबाट भन्सार छली लत्ताकपडा ल्याउने कार्यमा संलग्न थिए। मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रहरूबाट विभिन्न व्यक्तिहरू क्यारिङ गर्ने मार्फत उनले अवैध रूपमा कपडा विराटनगर भित्र्याउने गरेको खुलेको छ।
यसरी ल्याइएका कपडाहरू विराटनगर–५ स्थित उनको मुख्य पसल ‘माँ दुर्गा इम्पेरियल’ र बगरगाछीमा रहेको अर्को पसलबाट बिक्री–वितरण हुन्थ्यो। साना बजारमा सोझै बिक्री गर्ने र काठमाडौं जस्ता ठूला बजारमा पठाउनुपर्दा उनले चलाखीपूर्ण तरिका अपनाउने गरेको पाइएको छ।

प्रहरीले अग्रवालको घरमा छापा मार्दा उनी त्यहाँबाट फरार भइसकेका थिए। उनको खोजी कार्य तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ। फरार रहेका अग्रवालको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको बुझिएको छ।
यस घटनाले विराटनगर क्षेत्रमा कपडा तस्करीको सञ्जाल कति गहिरोसँग फैलिएको छ भन्ने कुरालाई पुनः उजागर गरेको छ। सीमा क्षेत्रको फाइदा उठाउँदै व्यापारीहरूले ठूलो मात्रामा राजस्व छली गरी अवैध कारोबार गरिरहेको यो घटनाले पुष्टि गर्दछ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी कबित कटुवालले बरामद गरिएका सबै कपडा र नियन्त्रणमा लिइएका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान सुरु गरिएको जानकारी दिए। “हामीले बरामद गरेका कपडाहरूको स्रोत, यसको ओसारपसारमा संलग्न अन्य व्यक्तिहरू र समग्र सञ्जालको बारेमा गहिरो अनुसन्धान गरिरहेका छौं,” उनले भने।

एसपी कटुवालले भन्सार छली र अवैध तस्करी नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाइरहेको र कुनै पनि अवैध गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। “कानुनभन्दा माथि कोही छैन, फरार अभियुक्तलाई हामी छिट्टै पक्राउ गर्नेछौं,” उनले भने। बरामद गरिएका कपडा र सवारीसाधन आवश्यक कारबाहीका लागि राजस्व कार्यालय, इटहरी सुनसरीमा पठाइने प्रहरीले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्