विराटनगर । प्रहरीले विराटनगरबाट खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ । विराटनगर १३ र विराटनगर ११ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले संकास्पद अवस्थामा आपसमा गफगरिरहेका विराटनगर ८ का २८ वर्षे अजयकुमार मुखिया र विराटनगर १६ का अजयकुमार राउतलाई को १४ प ४५८७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको सई प्रकाशचन्द्र अधिकारी नेतृत्वको टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरुलाई चेकजाँच गर्दा मुखियाको साथबाट १४० ग्राम १८ मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो ।
यसैगरी मंगलबार राति ९ बजेको समयमा विराटनगर बसपार्कबाट १५२ ग्राम ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत बिहार फारबिसगन्ज कोहलियाका २८ वर्षीय मोहमद मोजाहित र फारबिसगन्ज पलासीका २० वर्षीय राजकुमार दास छन् ।
उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!