निर्वाचनमा भाग लिन मंगलबारसम्म १७ वटा दल दर्ता

निर्वाचनमा भाग लिन मंगलबारसम्म १७ वटा दल दर्ता

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १७ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

आयोगले सोमबारबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरु गरेकोमा दोस्रो दिन मङ्गलवार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)सहित ५ दल दर्ता भएका हुन् ।

मङ्गलवार दर्ता हुने दलमा हुकुमबहादुर लामा नेतृत्वको नेपाल जनता संरक्षण पार्टी, चन्द्रप्रकाश (सीपी) मैनाली नेतृत्वको नेकपा (माले), त्रिभुवननाथ पाठक नेतृत्वको नेपाल जनता पार्टी र विजयप्रकाश निषाद नेतृत्वको राष्ट्रिय समता पार्टी नेपाल पनि दर्ता भएको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार सोमबार पहिलो दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसहित १२ दल दर्ता भएका थिए ।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन इच्छुक दलले मंसिर १० गतेभित्र दर्ता गरिसक्नुपर्ने सूचना गरेको छ ।

यसैबीच आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएको दलको संख्या ४ पुगेको छ । सोमबार ३ दल दर्ता भएकोमा मङ्गलवार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) थपिएपछि दर्ता हुनेको संख्या ४ पुगेको हो । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरिसक्नुपर्ने अन्तिम मिति मंसिर ७ गते तोकिएको छ ।