एनपिएल अन्तरवार्ता: ‘उपाधि विराटनगर किङ्ग्सले नै जित्ने हो’

एनपिएल अन्तरवार्ता: ‘उपाधि विराटनगर किङ्ग्सले नै जित्ने हो’

विराटनगर । मंसिर १ गतेदेखि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरु भइसकेको छ । दोस्रो दिन मंगलबार दुई खेल हुँदैछ । गत वर्ष सोचेजस्तो प्रदर्शन गर्न नसकेको विराटनगर किङ्स यो पटक बलियो पुनरागमन गर्ने लक्ष्यमा छ । विश्वस्तरीय खेलाडीदेखि घरेलु प्रतिभासम्मको सन्तुलित टोली बनाएको किङ्सले उपाधि जित्ने मात्र नभई नेपाली क्रिकेटको जगलाई नै बलियो बनाउने दीर्घकालीन योजना लिएर अघि बढेको छ । यही सन्दर्भमा किङ्सका संस्थापक सुयस प्याकुरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

गत वर्ष विराटनगर किङ्सको प्रदर्शन एनपीएलमा सोचेजस्तो भएन । लज्जास्पद नै भयो भनियो । यो पटकको तयारी कस्तो छ ?

– गत वर्ष हाम्रो प्रदर्शन कमजोर रह्यो, त्यो हामी स्वीकार गर्छौं । तर यो पटक हामीले टिमको तयारी निकै राम्रो गरेका छौं । हाम्रो स्क्वाड लिस्ट सार्वजनिक भइसकेको छ । हामीले फाफ डु प्लेसिस जस्ता विश्वचर्चित खेलाडीदेखि लिएर विभिन्न देशका उत्कृष्ट खेलाडीहरूलाई टोलीमा अनुबन्ध गर्ने प्रयत्न गरेका छौं । घरेलु खेलाडीहरूको छनोटमा पनि हामीले निकै ध्यान दिएका छौं । समग्रमा, टिम सन्तुलित र बलियो बनेको छ र हामी यो पटक उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं ।

टिमको तयारीबारे अलि विस्तृतमा बताइदिनुहोस् न । खेलाडी छनोट र सन्तुलन भनेको के हो ?

– हाम्रो टिममा विदेशी र स्वदेशी खेलाडीको राम्रो सन्तुलन छ । विदेशी खेलाडीले टिममा अनुभव र सन्तुलन ल्याउँछन् । तर घरेलु खेलाडी छनोट प्रक्रिया अक्सनमा आधारित हुँदा केही चुनौतीहरू थिए । अक्सनमा ‘लकी ड्र’ प्रणालीका कारण हामीले चाहेका केही खेलाडीहरू लिन पाएनौं । तर हामीसँग ‘प्लान बी’ थियो, जसअनुसार हामीले वैकल्पिक खेलाडीहरूलाई टिममा लिएका छौं । व्यवस्थापनको तर्फबाट हामीले एउटा राम्रो स्क्वाड बनाउने, राम्रो वातावरण तयार गर्ने र खेलाडीलाई चाहिने सबै सुविधा दिने हो । बाँकी मैदानमा हुने प्रदर्शन खेलाडीको हातमा हुन्छ । तर हाम्रो तयारी हेर्दा हामी निकै आशावादी छौं ।

विदेशी खेलाडीले टिमलाई सन्तुलनमा ल्याउला, तर तपाईंहरुले स्थानीय प्रतिभा खोज्नका लागि पनि ‘ड्रिम टु प्ले’ जस्ता कार्यक्रम गर्नुभएको छ, यसको उद्देश्य के हो ?

– हाम्रो मुख्य उद्देश्य नयाँ खेलाडी उत्पादन गर्नु हो । विदेशी खेलाडी सधैं ल्याएर तामझाम गर्नु रमाइलो त हुन्छ, तर त्यसले मात्र नेपाली क्रिकेटको विकास हुँदैन । हामीले कोशी प्रदेशका १४ वटै जिल्लामा ‘ड्रिम टु प्ले’ नामक प्रतियोगिता आयोजना ग¥यौं । इलाम, झापा, सुनसरीको इनरुवा, धरानलगायत सबैतिरका टिमहरूले प्रतिस्पर्धा गरे । त्यसैबाट हामीले आयुष न्यौपाने जस्ता प्रतिभावान खेलाडी छनोट ग¥यौं । हाम्रो सोच नयाँ खेलाडीलाई प्लेटफर्म दिने र नेपाली क्रिकेटको भविष्य बलियो बनाउने हो ।

नेपालमा क्रिकेटको फ्यान फलोइङ ठूलो भए पनि व्यावसायिक रूपमा भारतको जस्तो लगानी र प्रतिफलको वातावरण बनिसकेको छैन । यो अवस्थामा लगानीको चुनौती कस्तो छ र पूर्वाधार विकासमा सरकारको भूमिकालाई कसरी हेर्नुहुन्छ ?

– पक्कै पनि, नेपालमा भारतको जस्तो ठूलो बजार छैन, त्यसैले लगानी गरेअनुसार तत्कालै प्रतिफल आउँदैन । एउटै खेलाडीलाई करोडौं तिर्न सक्ने अवस्था छैन । तर हामीले एउटा इकोसिस्टम बनाउने प्रयास गरिरहेका छौं । पूर्वाधार विकासमा सरकारको भूमिका महत्वपूर्ण हुन्छ । तत्कालीन सरकारले कीर्तिपुरमा स्टेडियम बनाउने जुन निर्णय ग¥यो र एक वर्षमै निर्माण सम्पन्न भयो, त्यो निकै सराहनीय छ । जहाँ एउटा सडक बन्न २५–३० वर्ष लाग्छ, त्यहाँ एक वर्षमै स्टेडियम बन्नु ठूलो उपलब्धि हो । यसलाई निजी क्षेत्रले पनि सकारात्मक रूपमा लिएको छ । सरकारले पूर्वाधार बनाइदिने हो भने निजी क्षेत्र लगानी गर्न तयार छ ।

यो लिगलाई थप व्यावसायिक र विश्वस्तरीय बनाउन आगामी दिनमा के–कस्ता योजना छन् ? जस्तै, ‘होम एन्ड अवे’ खेलको सम्भावना कस्तो देख्नुहुन्छ ?

– यो एकदमै महत्त्वपूर्ण कुरा हो । अबको हाम्रो लक्ष्य भनेको ‘होम एन्ड अवे’ प्रणालीमा खेलहरू गराउनु हो । विराटनगर किङ्सले काठमाडौं, पोखरामा गएर खेल्ने र अरु टोलीहरू विराटनगरमा आएर खेल्ने वातावरण बनाउनुपर्छ । यसका लागि हरेक प्रदेशमा कम्तीमा एउटा राम्रो स्टेडियम चाहिन्छ । सरकारले जग्गा उपलब्ध गराउने र निजी क्षेत्रलाई निर्माणको जिम्मा दिने हो भने यो सम्भव छ । जब विराटनगरमा खेल हुन्छ, यहाँको स्थानीय अर्थतन्त्र चलायमान हुन्छ र क्रिकेटप्रतिको आकर्षण पनि बढ्छ । हामीले अबको ३–४ वर्षमा यो स्तरमा पुग्ने लक्ष्य राख्नुपर्छ ।

विराटनगरको क्रिकेटमा एउटा गौरवपूर्ण इतिहास छ । अहिले राष्ट्रिय टोलीमा यहाँको उपस्थिति पातलिएको देखिन्छ, यसलाई पुनर्जीवित गर्न किङ्सको भूमिका के हुन सक्छ ?

– विराटनगरको क्रिकेट इतिहास निकै बलियो छ । एक समय राष्ट्रिय टोलीमा विराटनगरका खेलाडीहरूको दबदबा थियो । तर अहिले राष्ट्रिय स्क्वाडमा ललित राजवंशीबाहेक कोही छैन । यो दुःखद कुरा हो । यसको मुख्य कारण पूर्वाधारको कमी हो । हामीले यही कुरालाई महसुस गरेर अब विराटनगर किङ्स ‘बी’ टिम बनाउँदैछौं । प्रदेशस्तरीय प्रतियोगिता गरेर त्यहाँबाट खेलाडी छनोट गर्ने र उनीहरूलाई वर्षभरि नै प्रशिक्षण दिने हाम्रो योजना छ । हाम्रो ‘ए’ टिमका खेलाडीहरूसँग पनि उनीहरूलाई खेल्ने अवसर दिन्छौं, जसले गर्दा उनीहरूले सिक्न पाउँछन् । हाम्रो सपना भनेकै यहाँका खेलाडीहरूले भोलि विराटनगर किङ्सबाट खेल्ने लक्ष्य राखुन् भन्ने हो ।

नेपालमा एउटा नेतृत्वले राम्रो कामको सुरुवात गर्दा अर्को नेतृत्व आउँदा त्यो काम रोकिने वा ढिला हुने प्रवृत्ति छ । क्यानमा पारस खड्काको पहलमा ल्याएको यो गति निरन्तर रहला भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

– यो चिन्ता जायज हो । तर अहिले जुन स्तरमा जनताको चासो र दबाब छ, त्यसले गर्दा अब आउने कुनै पनि नेतृत्वले यति ठूलो र सकारात्मक काममा भाँजो हाल्न सक्दैन जस्तो लाग्छ । यस्तो कामलाई रोक्नु भनेको देश र खेललाई माया नगर्नु हो । यति निकृष्ट काम गरेर नेतृत्वमा बस्न अब कसैले चाहँदैन होला भन्नेमा म विश्वस्त छु ।

लगानी र प्रतिफलको हिसाबले गत वर्ष र यो वर्षमा के फरक छ ? गत वर्ष घाटामा गएकोमा यो पटक के अपेक्षा छ ?

– गत वर्ष हामीलाई करिब ४ देखि साढे ४ करोड नोक्सान भएको थियो । व्यावसायिक रूपमा कुनै पनि उद्योग सुरु गर्दा ३–४ वर्ष नोक्सान हुनु सामान्य हो । यो पटक हाम्रो लगानी ८–१० करोड पुग्छ । तर यसपटक हामीले राम्रो प्रायोजकहरू पाएका छौं, टिकट बिक्री पनि राम्रो छ, त्यसैले नोक्सान घट्नेमा हामी आशावादी छौं । हाम्रो टिमको नेटवर्थ बढेको छ । अहिले कुनै पनि फ्रेन्चाइजको मूल्य ३५–४० करोडभन्दा कम छैन । त्यसैले कागजी रूपमा नोक्सान भए पनि दीर्घकालमा यसले राम्रो प्रतिफल दिनेछ । हामी ५ वर्षसम्म टिक्ने योजनाका साथ आएका छौं ।

अन्त्यमा, एनपीएल र समग्र नेपाली क्रिकेटको भविष्य कस्तो देख्नुहुन्छ ?

– भविष्य निकै राम्रो छ, तर यसलाई निरन्तरता दिनुपर्छ । यो पटक हामीले डे–नाइट म्याच गर्दैछौं, फ्लडलाइटमा पहिलो पटक क्रिकेट हुँदैछ, जुन आफैंमा एउटा ठूलो फड्को हो । हामीले हरेक संस्करणमा केही नयाँ दिन सक्नुपर्छ । पूर्वाधार विकास, खेलाडी उत्पादन र व्यावसायिकतामा ध्यान दिने हो भने नेपाली क्रिकेटले अझै ठूलो उचाइ हासिल गर्नेछ । हामी सबै मिलेर लाग्नुपर्छ, सरकार, निजी क्षेत्र र समर्थक सबैको साथ आवश्यक छ ।