नसुल्झिएको अंशु हत्या प्रकरण : पोलिग्राफ परीक्षणको तयारीमा प्रहरी

नसुल्झिएको अंशु हत्या प्रकरण : पोलिग्राफ परीक्षणको तयारीमा प्रहरी

विराटनगर । मोरङको लेटाङमा गत असोज २१ गतेदेखि वेपत्ता भइ कात्तिक ७ गते मृत भेटिएकी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरण अझै जटिल बन्दै गएको छ ।

घटनालगत्तै सुरु गरिएको प्रहरी अनुसन्धान शव बरामद भएपछि अझ तीव्र बनाइएपनि अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

बालिककाके शव सडिसकेको अवस्थामा फेला परेकोले पोष्टमार्टम रिपोर्टबाट प्रहरीले कुनै सुराक फेला पार्न सकेन । यो विभत्स घटनाले लेटाङ मात्र नभई सिंगो देशलाई नै स्तब्ध बनाएको छ । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कट्वाल आफैँ घटनास्थल पुगेर अनुसन्धानको नेतृत्व सम्हालेका थिए । तर, परिणाम निस्कन सकेको छैन ।

प्रहरीले अब पोलिग्राफ (झुट पहिचान) परीक्षणको तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कोपिला चुडाँलका अनुसार अनुसन्धान हाल पोलिग्राफ परीक्षणको चरणमा पुगेको छ । सुरुवात परिवारका सदस्यबाट गरिएको छ भने परीक्षण क्रमशः अन्य शंकासूचीमा रहेका व्यक्तिमाथि पनि विस्तार भइरहेको छ ।

अंशुको शव नजिकै कपडा अलग–अलग स्थानमा भेटिनुले उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । तर, त्यसको कुनै आधार फेला परेको छैन ।

पोष्टमार्टम रिपोर्टले इन्जुर भएको र घटना दुई हप्ताभित्रमा भएको बाहेक कुनै थप जानकारी उपलब्ध हुन सकेन । शव अत्यधिक कुहिएको अवस्थामा भेटिएकाले बलात्कार जस्तो संवेदनशील विषयमा प्रमाण जुटाउन प्रहरीलाई कठिनाइ भएको छ ।

अंशु वेपत्ता भएको ४२ दिन र शव बरामद भएको २४ दिन बितिसक्दा पनि प्रहरीले अपराधी पहिचानमा ठोस प्रगति गर्न सकेको छैन । त्यसैले पोलिग्राफ परीक्षणको तयारी भएको हो । जटिल र उच्च संवेदनशील आपराधिक घटनामा सत्यतथ्य निकाल्न पोलिग्राफको प्रयोग गरिन्छ ।

यो उपकरणले परीक्षणमा सहभागी व्यक्तिको रक्तचाप, मुटुको धड्कन, श्वासप्रश्वास र शरीरमा हुने प्रतिक्रियालाई ग्राफमार्फत रेकर्ड गर्छ । यसको नतिजाको विश्वसनीयता ८०–९० प्रतिशतसम्म रहने मानिएको छ ।

अंशुको शव फेला परेको बेलबारी–चिसाङ साझेदारी वन, उनी वेपत्ता भएको स्थानबाट करिब साढे चार किलोमिटर टाढा पर्छ । शव भेटिएको स्थान घना जङ्गल हुनु र शव कुहिएर प्रमाणहरू नष्ट हुन थाल्नुले अनुसन्धानलाई थप जटिल बनाएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् ।

आफ्नी छोरीको विभत्स हत्यामा संलग्न अपराधी पक्राउ नपरेसम्म शव नबुझ्ने अडानमा गौतम परिवार छ । प्रहरीले दोषीलाई पक्राउ नगरेसम्म शव नबुझ्ने परिवारको अडानको कारण उनको अन्तेष्टि पनि हुन सकेको छैन ।