नियमित महाधिवेशन नभए विशेषमा जान केन्द्रीय समितिले निर्णय गरोस : शेखर कोइराला

नियमित महाधिवेशन नभए विशेषमा जान केन्द्रीय समितिले निर्णय गरोस : शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको नियमित महाधिवेशन पुस महिनाभित्रै हुनुपर्ने र यदि सो समयमा हुन नसके केन्द्रीय कार्यसमितिको बैठकबाटै विशेष महाधिवेशनमा जाने निर्णय गर्नुपर्नेमा जोड दिएका छन्। मंगलबार पार्टीका युवाहरूसँगको भेटघाटमा उनले पार्टीलाई एकताबद्ध राख्न बहुमतको आधारमा भन्दा पनि सर्वसम्मत निर्णयबाट अघि बढ्नुपर्ने बताएका हुन्।

आफूले पहिलेदेखि नै मंसिरभित्र महाधिवेशन हुनुपर्ने अडान राख्दै आएको स्मरण गराउँदै डा कोइरालाले भने, ‘मैले मंसिरभित्र महाधिवेशन गर्नुपर्छ भनिरहेकै छु। अहिले नियमित अधिवेशनको परिभाषा कोही वैशाख भन्छन्, मेरो कुरा अहिले पनि त्यही छ, मंसिरको सट्टा पुस अन्तिमसम्ममा हुनुपर्‍यो।’

पछिल्लो समय कांग्रेसभित्र १५औँ महाधिवेशनको मितिलाई लिएर बहस चर्किएको छ। महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन २०८२ सालको मंसिरभन्दा पर नजाने बताउँदै आएका छन्। तर, संस्थापन पक्ष भने निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने पक्षमा देखिएको छ।

यसैबीच, पार्टी विधानअनुसार विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरिसकेको डा. कोइरालाले बताए । विधानतः ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ। यद्यपि, हस्ताक्षर रुजु गर्ने प्रक्रियामा जाँदा पार्टीमा विवाद बढ्ने र विभाजनको खतरासमेत निम्तिन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

‘विशेष महाधिवेशन माग गर्ने साथीहरूको हस्ताक्षर रुजु गर्ने दिनदेखि नै विभाजनको मनस्थिति सुरु हुन सक्छ,’ कोइरालाले भने, त्यसैले पार्टीलाई विभाजनतिर जान नदिन केन्द्रीय समितिले नै विशेष महाधिवेशनमा जाने निर्णय सर्वसम्मतिले गर्नुपर्छ।’