धरानमा मतदान केन्द्र थप गर्न सिफारिस

धरानमा मतदान केन्द्र थप गर्न सिफारिस

इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा एक नयाँ मतदान केन्द्र थप्ने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको संयोजकत्वमा बसेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले यस्तो निर्णिय गरेको हो ।

अत्यधिक मतदाता चाप भएको धरान उपमहानगरपालिका–११ मा एक मतदान केन्द्र थप्ने निर्णय भएको हो । निर्वाचन अधिकारी कृष्ण पौडेलका अनुसार धरान–११ को ज्ञानोदय माध्यमिक विद्यालय, न्यूरोडस्थित मतदान स्थलमा मतदाता संख्या धेरै भएकाले व्यवस्थापन सहज बनाउन सिफारिस समितिले यस्तो निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार धरान–११ मा रहेको अनन्त शिक्षा आधारभूत विद्यालयमा ‘मतदान केन्द्र संख्या–२’ कायम गर्ने र त्यहाँ १ हजार ७ सय ३ आंशिक मतदातालाई सार्ने सिफारिस केन्द्रमा पठाइएको छ ।
पौडेलले सिफारिस आएपछि प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको जनाए ।

यसैबीच, सुनसरीको श्रीलंका टापु तथा अन्य केही स्थानीय तहले पनि मतदान केन्द्र थप्न माग गरेका थिए । तर, सीमित स्रोत र साधनका कारण यसपटक थप्न नसकिएको र ती स्थानीय तहका विद्यमान मतदान स्थललाई यथावत् राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

बैठकले मतदान केन्द्र निर्धारणका मापदण्ड अनुसार आवश्यक विवरण संकलन गरी जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगमा पठाउने निर्णय पनि गरेको छ ।