विराटनगर । विराटनगरका एक व्यापारीले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका कपडा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको विशेष टोलीले मंगलबार बिहान विराटनगर एयरपोर्ट र एक व्यापारीको घरमा छापा मारी ठूलो परिमाणमा तस्करीका कपडा नियन्त्रणमा लिएको हो ।
कपडाको कारोबार गर्ने व्यापारी बब्लु अग्रवालले जाडो मौसमका लागि ल्याइएका महँगा कुर्ता–सुरुवाल काठमाडौं पठाउन लाग्दा प्रहरीले यो अपरेसन चलाएको थियो । मुख्य कारोबारी अग्रवाल भने प्रहरीको नियन्त्रणबाट उम्कन सफल भएका छन् ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुरुमा विराटनगर एयरपोर्टको कार्गो क्षेत्रमा छापा मारेको थियो । अग्रवालले काठमाडौं पठाउन लागेका दुईवटा बोरामा जाँच गर्दा ८९ थान ‘उनीयु’ ब्रान्डका कुर्ता–सुरुवाल फेला परेको थियो । एयरपोर्टमा कपडा बरामद भएलगत्तै प्रहरीले अनुसन्धानलाई थप अगाडि बढाउँदै विराटनगर–४, गणेशचोकस्थित अग्रवालको निवास तथा गोदाममा छापा मारेको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले उनको घरबाट थप ४५ थान उस्तै प्रकारका कुर्ता–सुरुवाल बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । बरामद गरिएका कपडाको बजार मूल्य प्रतिथान ४ देखि ५ हजार रुपैयाँ पर्ने बताइएको छ, जसअनुसार बरामद गरिएका कपडाको कुल मूल्य लाखौंमा पुग्छ ।
प्रहरीका अनुसार अग्रवाल लामो समयदेखि भारतको जोगबनीबाट भन्सार छलेर लत्ताकपडा ल्याउने कार्यमा संलग्न थिए । उनले मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रहरूबाट विभिन्न व्यक्तिहरू (क्यारिङ) मार्फत अवैध रुपमा कपडा विराटनगर भित्र्याउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसरी ल्याइएका कपडाहरू विराटनगर–५ स्थित उनको पसल ‘माँ दुर्गा इम्पेरियल’ र बगरगाछीमा रहेको अर्को पसलबाट समेत बिक्री हुने गरेको थियो । काठमाडौं जस्ता ठूला बजारमा पठाउनु पर्दा उनले आफ्नै पसलको बिल प्रयोग गरी सामानलाई वैधानिक बनाउने प्रयास गर्ने गरेको पाइएको छ ।
प्रहरीले अग्रवालको घरमा छापा मार्दा उनी फरार भएका थिए । उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीले तस्करीका कपडा ओसारपसारमा प्रयोग हुने एउटा गाडीलाई पनि नियन्त्रणमा लिएको छ । यस घटनाले विराटनगर क्षेत्रमा भइरहेको कपडा तस्करीको सञ्जाललाई पुनः उजागर गरेको छ । सीमा क्षेत्रको फाइदा उठाउँदै व्यापारीहरूले ठूलो मात्रामा राजस्व छली गरी अवैध कारोबार गरिरहेको यो घटनाले पुष्टि गर्दछ ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कबित कट्वालले बरामद गरिएका सबै कपडा जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान सुरु गरिएको जानकारी दिए । “हामीले बरामद गरेका कपडाहरूको स्रोत र यसमा संलग्न अन्य व्यक्तिहरूको बारेमा गहिरो अनुसन्धान गरिरहेका छौं ,’ उनले उनले भने ।
एसपी कट्वालले भन्सार छली र अवैध तस्करी नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाइरहेको र कुनै पनि अवैध गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । फरार रहेका अग्रवालको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको बुझिएको छ ।





