विराटनगर । विराटनगरको स्वास्थ्य क्षेत्रमा परिचित नाम, गोल्डेन अस्पतालमा संस्थापक साझेदारहरूबीच १८ वर्ष लामो सहयात्रा टुङ्गिएको छ। विराटनगर–११, जनपथ टोलमा एक सय शय्याको भव्य संरचनामा सञ्चालित अस्पताल अहिले संस्थापक डा. श्याम रौनियारको एकल स्वामित्वमा आएको छ । जबकि अन्य चार जना संस्थापक सञ्चालकहरूले विभिन्न समयमा अस्पतालबाट बाहिरिएका छन्।

२०६७ साल फागुन ११ गते विराटनगरको हस्पिटल चोकमा भाडाको भवनबाट १५ शय्याको क्षमतासहित गोल्डेन अस्पतालको यात्रा आरम्भ भएको थियो। २५ लाखभन्दा बढीको लगानीमा सुरु भएको यस अस्पतालमा ६ जना सञ्चालक थिए। जसमा डा. श्याम रौनियार र उनकी श्रीमती आरती आन्नद रौनियारको ६० प्रतिशत शेयर थियो भने डा. संगीता मिश्रा, दिनेश ठाकुर, गोविन्द लुईटेल र सनातन मण्डलको जनही १० प्रतिशत शेयर थियो। सामूहिक सपना र लगानीबाट सुरु भएको यो यात्राले अस्पताललाई आजको १०० शय्याको आधुनिक संरचनासम्म त ल्याइपुर्यायो, तर संस्थापकहरूबीचको सम्बन्ध भने कायम रहन सकेन।

अस्पताल सुरु भएको केही वर्षमै सञ्चालकहरू बाहिरिने क्रम सुरु भयो। सबैभन्दा पहिले डा. संगीता मिश्राले आफ्नो लगानी फिर्ता लिँदै गोल्डेनबाट अलग भइन्। त्यसको केही समयपछि अर्का सञ्चालक दिनेश ठाकुरले पनि अस्पताल छोडेर आफ्नै आर्य न्युरो हस्पिटल स्थापना गरे। ठाकुरको बहिर्गमनपछि गोविन्द लुईटेलले पनि साथ छोडे र उनले मकालु एभरेष्ट हस्पिटल सञ्चालनमा ल्याए।

लामो समयसम्म डा. रौनियारलाई साथ दिनेमा सनातन मण्डल थिए। अस्पताललाई १५ शय्याबाट १०० शय्यामा विस्तार गर्न र गत वर्ष नर्सिङ कलेजको अनुमति लिन उनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ। २२ वटा अस्पतालले आवेदन दिँदा गोल्डेनले मात्र नर्सिङ कलेज सञ्चालनको अनुमति पाउनुमा मण्डलको विशेष पहल रहेको स्रोतको दाबी छ। तर, १८ वर्ष लामो सहयात्रापछि अन्ततः उनले पनि गोल्डेन छोडेका छन्। मण्डलले यही मंसिर १४ गतेदेखि पुरानै गोल्डेन अस्पताल रहेको हस्पिटल चोकको भवनमा २५ शय्याको आफ्नै छुट्टै अस्पताल सञ्चालन गर्ने तयारी गरेका छन्।

एकपछि अर्को गर्दै चारै जना सञ्चालकहरूले अस्पताल छोड्नुको पछाडि डा. रौनियारको एकलौटी व्यवहार र आर्थिक अपारदर्शिता मुख्य कारण रहेको बुझिएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक पूर्व सञ्चालकले भने, ‘आर्थिक मामिलामा कहिल्यै पारदर्शीता भएन, सबै अधिकार आफैंमा केन्द्रित गर्ने र आफूले भनेको मात्र हुनुपर्ने व्यवहारले हामीलाई निस्सासिनु बनायो। डा रौनियार र उनकी श्रीमतीको हस्तक्षेपकारी भूमिकाका कारण अन्य सञ्चालकहरू आजित भएर बाहिरिएको स्रोतको दाबी छ।यता डा. श्याम रौनियारसँग यस विषयमा बुझन पटक–पटक सम्र्पक गर्दा पनि उनीसँग सम्र्पक हुन सकेन ।