विराटनगर । सहकारीमा बचतकर्ताको रकम अपचलन र संगठित अपराध अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश भएको छ ।
बिहीबार तुलसीपुर उच्च अदालत, बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश गरेको सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
यसअघि २० कात्तिकको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । अहिले फेरि थप प्रमाण अन्य मिसिल झिकाउन आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा उनीहरू थुनामा रहेका छन् ।
