विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगर महानगरपालिका र मातहतका वडा कार्यालयहरुसमेतमा गरी झण्डै एक अबर रुपियाँ बराबरको क्षति भएको छ ।
विराटनगर महानगरपालिकाले क्षतिको जानकारी दिँदै भौतिक संरचना, सवारी साधन र अन्य सम्पत्तिमा गरी १ अर्ब रुपैयाँ बराबरको क्षति भएको जनाएको हो ।
मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा भएको क्षतिको विवरण हो ।
त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्री आदिमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको महानगरले जनाएको छ । वडागत रुपमा संकलन गर्नुपर्ने परेका कारण क्षतिको पूर्ण विवरण आउन समय लागेको मेयर कोइरालाले बताए ।
‘यो त भौतिक र जिन्सी सामग्रीको क्षतिको विवरण हो । त्यो भन्दा ठूलो क्षति त जनताका महत्वपूर्ण कागजपत्रजलेर नष्ट भएको छ,’ उनले भने, ‘घरजग्गा शाखा पूर्ण रुपमा जल्दा त्यहाँका सबै कागजपत्र नष्ट भयो । अन्य महाशाखा र शाखाका कागजपत्र पनि सबै जल्यो । ती सबै कागजपत्र जनतासँग सम्बन्धित नै थिए ।’
भौतिक संरचना र जिन्सीसहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपियाँ क्षति भएको र त्यसका कारण नागरिकले पनि झन्झट, हैरानी र दुःख पापउनु परेको उनले बताए । यद्यपि सेवा प्रवाहलाई महानगरपालिकाले सुचारु गरिसकेको कोइरालाको भनाइ छ ।
प्राविधिक जाँचपछि बस्नयोग्य भवनमा रंगरोगन, विद्युत र इन्टरनेट जडान धमाधम भइरहेको प्रमुख प्रशासकीय अधिकृत योगन्द्र दुलालले जानकारी दिए ।
