विराटनगर । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री शिवकुमार मण्डल नेपाली कम्युनिष्ट पार्टीमै रहने भएका छन् । यसअघि मण्डल नेता जनार्दन शर्माको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा जोडिने भन्दै प्रचार भएको थियो । मण्डलले तत्कालिन पार्टी अध्यक्ष पुष्पकमल दाहालको विषयमा शर्माले राखेका विषयमा समर्थन गर्दै आएका थिए ।

मण्डलले आफू नेपाली कम्युनिष्ट पार्टीमै रहने बताए । ‘मैले अहिले एकता प्रक्रियामै रहने निर्णय गरेको छु,’ मण्डलले भने, ‘संयोजक प्रचण्डका कतिपय विषयमा राखिएका फरक मत र विचारलाई यही पार्टीभित्रै रहेर बहस गरिरहन्छु ।’ मण्डलले अहिले विभाजन भन्दा एकताकै आवश्यकता रहेको पनि बताए ।

कोशी प्रदेशमा हाइप्रोफाइल नेता सुदन किराँतीले मात्रै जनार्दन शर्मालाई साथ दिएका छन् । त्यसबाहेक केही कार्यकर्ता देखिएपनि पुरानो माओवादी पार्टी एक रहेको कोशी प्रदेशका तत्कालिन माओवादी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले जानकारी दिए ।