विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाकी एक शिक्षिकाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध मुद्दा दायर भएको हो ।

निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी गरिएको माध्यमिक तहको परीक्षा प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षिका पदमा नियुक्ति लिएकी थिइन् । तर, अख्तियारको अनुसन्धानका क्रममा सो प्रमाणपत्र नक्कली र झुट्टा रहेको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार निरौलामाथि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१)८ बमोजिम कैद सजाय र जरिवानाको मागसहित मुद्दा दायर गरिएको हो ।

आयोगले फर्जी प्रमाणपत्रमार्फत सरकारी सेवा प्रवेश गर्नु गम्भीर आपराधिक कृत्य भएको भन्दै यस्ता कार्यमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही कडाइका साथ अघि बढाइने जनाएको छ ।