विराटनगर । कोशी प्रदेशलाई पनि अब स्थानीय तहका लागि प्रयोग हुँदै आएको कर्मचारी विवरण प्रणाली (PIS–पोर्टल) को पहुँच औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
बिहीबार राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव एकदेव अधिकारीबीच यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। हस्तान्तरण कार्यक्रम प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेलको उपस्थितिमा सम्पन्न गरिएको थियो।
यस प्रणालीमार्फत कोशी प्रदेशका १३७ वटा स्थानीय तहमा कार्यरत ४ हजार ७ सय ४६ जना समायोजित कर्मचारी र अन्य सेवाका ३०३ जना कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्। साथै, प्राविधिक कारणले अहिलेसम्म प्रणालीमा आबद्ध हुन नसकेका कर्मचारीहरूलाई पनि अब सहज रूपमा समावेश हुने अवसर मिल्ने भएको छ।
पोर्टलको पहुँच पाएकोसँगै कोशी प्रदेश सरकारले आफ्ना प्रादेशिक तथा स्थानीय तहका कर्मचारीहरूको सम्पूर्ण विवरण, सेवा–सुविधा र सरुवा–बढुवा सम्बन्धी जानकारी आफैं अद्यावधिक गर्न सक्नेछ।
कार्यक्रममा बोल्दै राष्ट्रिय किताबखानाका महानिर्देशक पोखरेलले एकीकृत कर्मचारी विवरण प्रणालीको संरक्षण, मर्मत, प्राविधिक सहयोग र आवश्यक परिमार्जनको जिम्मेवारी किताबखानाकै हुने बताए।
यससँगै देशका सबै प्रदेशमा स्थानीय तहका मानव स्रोत व्यवस्थापन प्रणालीलाई डिजिटल माध्यमबाट एकीकृत गर्ने प्रयास नयाँ चरणमा प्रवेश गरेको मानिएको छ।
