विराटनगर । विराटनगरमा गत वर्षको फागुन १९ देखि २८ गतेसम्म सञ्चालन भएको नवौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको खर्च ८ महिनापछि सार्वजनिक गरिएको छ।

विराटनगरको सहिद रंगशालामा सम्पन्न गोल्डकपमा आयोजक समितिले करिब ३ लाख रुपैयाँ नाफा आर्जन गरेको खर्च विवरण सार्वजनिक गरेको हो ।

उद्योगी नविन रिजालको संयोजकत्वमा सम्पन्न नवौँ संस्करणमा आयोजक समितिले १ करोड ७ लाख २१ हजार रुपैयाँ आम्दानी र १ करोड ४ लाख २६ हजार रुपैयाँ खर्च गरेको जानकारी दिएको छ । संयोजक रिजालले २ लाख ९४ हजार ३७४ रुपैयाँ मुनाफा भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा रिजालले टिकट बिक्री कमजोर हुनु र निःशुल्क पास वितरण बढी हुनु नाफा कम भएको बताए । फाइनल खेल भएको दिन १८ सयभन्दा बढी पास वितरण गरिएको उनको भनाइ छ ।

खेलकुदको विकासका लागि महानगरवासी र दर्शकले सक्रिय सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै रिजालले प्रदेश सरकार र खेलकुद बोर्डबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे । ‘सरकारले सहयोग दिने भनेर घोषणा गर्छ । तर, रकम दिन बार्गेनिङ गर्छ’ उनले भने, अहिलेकै अवस्थामा निजी क्षेत्रका लागि यस्ता प्रतियोगिता सञ्चालन गर्न कठिन छ।’

विराटनगर महानगरपालिकाबाट भने सहयोग प्राप्त भएको जनाउँदै रिजालले आगामी संस्करण सफल बनाउनका लागि सस्तो लोकप्रियता खोज्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । यस्तै पास प्रणाली खारेज गर्ने र एन्फाले अनुकूल समयमा तालिका तय गर्नुपर्ने उनको भनाइ छ ।

गोल्डकप ट्रस्टका अध्यक्ष किशोर शाहीले भने रिजाल नेतृत्वले सार्वजनिक गरेको मुनाफा अपूर्ण र अडिट नभएको रहेको बताएका छन् । कर क्लियरेन्स र सम्पूर्ण खर्च भुक्तानी नगरी नाफा देखाइएको भन्दै उनले फिल्ड सरसफाइ गर्दा तिरेको ५० हजारसम्मको हिसाब नदेखाइएकोले मुनाफा भएको दावी गलत भएको जिकिर गरेका छन् ।

प्रधानका अनुसार, अघिल्ला संस्करणहरू घाटामा जानुको मुख्य कारण सरकारले दिने भनेर कबोल गरेको रकम नपाइनु हो । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले २५ लाख दिने घोषणा गरेपनि एक रुपैयाँ नदिएको उनको आरोप छ ।

गोल्डककपको सातौँ संस्करणमा ८७ लाख र आठौँ संस्करणमा २२ लाख घाटा बेहोरेको ट्रस्टले जनाएको थियो । खर्च विवरण सार्वजनिक भएपनि गोल्डकपको दशौँ संस्करण सञ्चालनबारे कुनै निर्णय भएको छैन ।

सरकारी र निजी क्षेत्रबीच समन्वय अभावले प्रतियोगिताको निरन्तरता संकटमा पर्नसक्ने ट्रस्ट अध्यक्ष प्रधानले बताए ।