विराटनगर । सरकारी सम्पत्तीमाथिको दोहन, कुशासन र भ्रष्टाचारविरुद्ध जेनजी आन्दोलनपछि मुलुकको राजनीति नै फरक मोडमा पुगेको छ । तर, कोशी प्रदेशमा भने त्यसको कुनै असर देखिएको छैन ।

मुख्यन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा क्युआर कोड पठाएर कर्मचारीसँग घुस माग्नेदेखि सर्वसाधारणलाई कुटपिट गर्ने मन्त्रीहरु अझै झण्डा हल्लाउँदै हिँडेका छन् । त्यति मात्र हैन सरकारी सम्पत्तीको दोहन मन्त्रीहरुबाट निर्वाध चलिरहेकै छ । त्यसको उदाहरण आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी हुन् ।

सुनसरीको इटहरीमा घर भएका मन्त्री भण्डारी मन्त्री भएपछि आफ्नै घरबाट आउजाउ गर्छन् । आफ्नै घरमा बस्ने उनले राज्यबाट आवास सुविधा भन्दै मासिक २९ हजार रुपैयाँ बुझिरहेका छन् । २०८१ मंसिर १७ गते मन्त्री बनेका भण्डारीले विगत १० महिनाको अवधिमा घरभाडा बापत मात्रै २ लाख ९० हजार रुपैयाँ बुझिसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेशका मन्त्रीले मासिक पारिश्रमिक ६१ हजार ३६०, सञ्चार सुबिधा मासिक २ हजार ५००, धारा विजुली मासिक २ हजार ५०० रुपैयाँ पाउने व्यवस्था छ । मन्त्री भण्डारीले सबै गरेर मासिक ९५ हजार ३६० रुपैयाँ बुझिरहेका छन् ।

मन्त्रीहरुलाई आवास उपलब्ध गराउने र आवास उपलब्ध नभएमा मासिक २९ हजार घरभाडा उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर, मन्त्री भण्डारीले घरभाडा नबसी आफ्नै घरमा बसेर घरभाडाको रकम बुझिरहेको पाइएको छ ।

प्रदेशसभाका सदस्यहरुको सेवा तथा सुविधा सम्बिन्ध ऐनमा विराटनगर र आसपास घर भएकाहरुलाई घरभाडा उपलब्ध नगराउने व्यवस्था छ । मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक सेवा सुविधा सम्बन्धि ऐनमा त्यसबारे स्पष्ट उल्लेख नगरेको कारण मन्त्री भण्डारीले घरमै बसेर घरभाडा बुझेका हुन् ।

आफ्नै घरमा बसेर सरकारी कोषबाट घरभाडा लिनु नैतिक रूपमा भ्रष्टाचार हो । मन्त्री भण्डारीले आवास सुविधाको दुरुपयोग गरी राज्यलाई आर्थिक भार थपिदिएका छन् । एकातिर प्रदेश आर्थिक संकटबाट गुज्रिरहेको छ, अर्कोतिर जनताको करबाट तलब–भत्ता खाने मन्त्रीहरू नै यसरी राज्यकोषको दोहनमा लिप्त देखिएका छन् ।

आफ्नै घरमा बसेर सरकारबाट घरभाडा बुझ्ने मन्त्री भण्डारीले कानुनमा तोकिएको सुविधा लिएको जिकिर गरेका छन् । ‘मलाई त मन्त्री भएपछि घाटा छ । घरमा तीन वटा कोठा मात्रै थिए, मन्त्री भएपछि पिएसओ राख्नका लागि माथिल्लो तलामा एउटा कोठा थप्दा ६ लाख भार थपिएको छ’ उनले भने ।

राजनीति गर्नेले “कानुनमा छ” भन्दैमा आफ्नै घरमा बसेर भाडा लिनु अनुचित भएको भन्दै एमालेकै सांसदहरुले मन्त्री भण्डारीको नैतिकतामाथि प्रश्न उठाएका छन् । ‘मुख्यमन्त्रीको नजिक भएपछि जे गरेपनि हुन्छ भन्ने मन्त्री भण्डारीलाई लागेको छ’ एक सांसदले भने, ‘राजनीतिज्ञले नैतिकता देखाउनुपर्नेमा अझ जेनजी आन्दोलनपछि पनि पुरानै अवस्था देखिनु विडम्बना हो ।’