विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, बुधबारेकी १३ वर्षीया अंशु गौतम घरबाट खेल्न जान्छु भनेर निस्किएपछि बेपत्ता भएको बिहीबार ३९ दिन पुगेको छ । उनको क्षतविक्षत शव जङ्गलमा फेला परेको पनि २० दिन बितिसकेको छ । तर, यो कहालीलाग्दो हत्याको घटनामा प्रहरी अझैसम्म कुनै ठोस सुराग ‘क्लु’ सम्म पुग्न सकेको छैन । जसले गर्दा परिवारजनको पीडा चुलिएको छ भने समाजमा त्रास फैलिएको छ ।

गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु त्यसपछि सम्पर्कविहीन भइन् । परिवार र आफन्तले उनको व्यापक खोजी गरे पनि कुनै पत्तो लागेन । हराएको १८ दिनपछि, कार्तिक ७ गते, घरबाट करिब साढे चार किलोमिटर टाढा बेलबारी–चिसाङ साझेदारी वनभित्र घाँस काट्न गएका स्थानीयले दुर्गन्ध आएपछि खोज्दै जाँदा उनको शव क्षतविक्षत अवस्थामा फेला पारेका थिए । शवको प्रकृति हेर्दा टाउको र शरीर अलग भएको, कुहिएको र पहिचान गर्नसमेत मुस्किल अवस्थामा थियो । घटनास्थलमा भेटिएको चप्पल र कपडाका आधारमा परिवारले शव अंशुको नै भएको पहिचान गरे ।

यो विभत्स घटनाले लेटाङ मात्र नभई सिंगो देशलाई नै स्तब्ध बनाएको छ । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कट्वाल आफैँ घटनास्थल पुगेर अनुसन्धानको नेतृत्व सम्हालेका थिए । प्रहरीले तत्कालै विशेष अनुसन्धान टोली गठन ग¥यो । अनुसन्धानलाई थप प्रभावकारी बनाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरीको विशेष टोली र संघीय प्रहरी इकाई कार्यालयका विज्ञहरूको समेत सहयोग लिइएको छ । तर, अनुसन्धान सुरु भएको तीन साता बित्न लाग्दा पनि प्रहरीले हत्यामा संलग्न अपराधीको पहिचान गर्न सकेको छैन, जसले अनुसन्धान प्रक्रियामाथि नै प्रश्न खडा गरेको छ ।

कहाँ पुग्यो अनुसन्धान ?
मोरङ प्रहरीले घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिएर सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको बताएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालले अनुसन्धान गर्दै आएकोले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने विश्वास दिलाएका छन् । तर, शव भेटिएको लामो समयसम्म पनि कुनै ठोस ‘क्लु’ फेला नपर्नुले अनुसन्धान चुनौतीपूर्ण बनेको स्पष्ट हुन्छ । शव भेटिएको स्थान घना जङ्गल हुनु र शव कुहिएर प्रमाणहरू नष्ट हुन थाल्नुले अनुसन्धानलाई थप जटिल बनाएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी बताउँछन् ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, घटनाको प्राविधिक विश्लेषण भइरहेको छ र सबै कोणबाट अनुसन्धान जारी छ । “सबै एंगलबाट अनुसन्धान जारी छ । म स्वयम् अहिले फिल्डमा छु,’ उनले भनिन्, “हामीले सबै कोणबाट सुक्ष्म ढुंगले अनुसन्धान गरिरहेका छौं । टेक्निकल अनुसन्धान गरिरहेका छौँ । विज्ञले दिएको रायअनुसार पनि अघि बढेका छौं ।’’

प्रहरीले घटनास्थलबाट संकलित प्रमाणहरूलाई फरेन्सिक परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ । पोष्टमार्टम रिपोर्टले पनि इन्जुर भएको र घटना दुई हप्ता भित्रमा भएको उल्लेख छ । यद्यपि, परिवार र स्थानीयले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन् । शव अत्यधिक कुहिएको अवस्थामा भेटिएकाले बलात्कार जस्तो संवेदनशील विषयमा प्रमाण जुटाउन प्रहरीलाई कठिनाइ भएको छ । डीएनए परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले त्यसपछि मात्रै थप कुरा खुल्ने प्रहरीको भनाइ छ ।

न्यायको पर्खाइमा परिवार
आफ्नी छोरीको विभत्स हत्यामा संलग्न अपराधी पक्राउ नपरेसम्म शव नबुझ्ने अडानमा गौतम परिवार छ । “जबसम्म प्रहरीले दोषीलाई पक्राउ गर्दैन, हामी छोरीको शव बुझ्दैनौं, दाहसंस्कार पनि गर्दैनौं,’ अंशुका बुबा नवीनले भने ।

हाल अंशुको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । “हाम्री छोरी त फर्किएर आउँदिनन् । तर, जसले यो घटना गराएको हो, उसले सजाय पाउनुपर्छ । हामीलाई न्याय दिनुप¥यो,’ अंशुकीको ठुला बुवा दामोदर गौतमले भने । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशुको निर्मम हत्याले गाउँलेहरू त्रसित र आक्रोशित छन् ।