विराटनगर । विराटगरस्थित शहीद रंगशालामा रातको समयमा खेलकुद प्रतियोगिता आयोजना गर्न सकिनेगरी फ्लडलाइट जडानको काम सुरु भएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पहलमा मैदानको चारै कुनामा मास्ट फ्लडलाइट जडान गर्ने कार्य धमाधम भरहेको छ ।
मास्ट फ्लडलाइट जडानका लागि एक नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कूल ५ करोड बजेट विनियोजन गरेको छ । फ्लडलाईट जडानको जिम्मा कार्की जेबिएन कन्सट्रक्सन कम्पनीले लिएको छ ।
सम्झौताअनुसार ठेकेदार कम्पनीले वैशाखको अन्त्यसम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ । फ्लडलाइटको निर्माण सामाग्री सबै भारतबाट आयात गर्नुपर्ने हुन्छ । ती सबै सामाग्रीहरूलाई प्रयोगशालामा परीक्षण गरेर मात्रै प्रयोग गर्न पाइन्छ । ईन्जिनियर ओमनारायण चौधरीले सामाग्री आयातमा समस्या नभएमा तोकिएकै समयमा काम सकिने हुने बताउनुभयो ।
फ्लडलाईट जडान भइसकेपछि विराटनगरमा अब हपहपी गर्मी सहेर दिउँसो खेल हेर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । दर्शकहरूले साँझको समयमा आरामले शितलमा बसेर खेल हेर्न पाउनेछन् ।
ईन्जिनियर चौधरीका अनुसार जडान गरिने मास्ट फ्लडलाइटको जमिन सतहदेखिमाथिको कुल उचाइ ३३ मिटर अग्लो हुनेछ । प्रत्येक मास्ट फ्लडलाइटमा २७ वटा साना लाइट हुनेछन् । एउटा लाइटको तौल ३५ केजीको हुन्छ । मास्ट फ्लडलाइटको कूल तौल ९ सय ४५ केजी पुग्छ ।
मास्ट फ्लडलाइटको तौल थेग्नलाई पाइल फाउन्डेशन प्रविधिको प्रयोग गरिनेछ । पाइल फाउन्डेशन प्रविधिको लागि जमिनमुनि १० मिटर लम्बाइका ४ वटा पेडेस्टल पाइलहरूलाई जाली बनाएर राखिन्छ । ४ वटा पाइलको माथिल्लो भागमा पाइल क्याप राखिन्छ ।
मैदानको बाहिरपट्टि चारै वटा कुनामा राखिनुपर्ने मास्ट फ्लडलाइटका लागि पाइल क्याप राख्नलाई जमिनमा खाल्डो खन्न ठाउँ नपुगेको कारण रंगशालाको दक्षिण–पूर्व भागको पूरानो र उत्तर–पूर्व भागको नयाँ प्याराफिटको केही भागहरू भत्काएर काम सुरु गरिएको छ ।