विमल लामिछाने

नेपालको कम्युनिष्ट आन्दोलनले विभाजन र एकताको लामो चक्रिय श्रृंखला पार गर्दै आएको पाइन्छ । विगत केही दशकदेखि जारी विभाजन र पुनर्गठनको लामो यात्रापछि कम्युनिष्ट पार्टीहरुमा पुनः एकता र विभाजनले स्पेस पाइरहेको छ ।

एकातिर एमालेले आफूबाट छुट्टीएर बाहिरिएका नेता कार्यकर्तालाई घर फर्किन अपिल गरेर केही कार्यकर्तालाई घर भित्र्याइरहेको छ भने अर्कोतिर माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी) लगायतका आठ दलबीच समायोजनको अभ्यास भएको छ जसलाई वृहत एकता भनेर घोषणा गरिएको छ ।

जनयुद्धका सुप्रिम कमाण्डर तथा कम्युनिष्ट डायनामिक लिडरको रुपमा एक समय विश्वको ध्यान खिच्न सफल भएका पपुलर नेता लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा १६ कात्तिकमा सम्पन्न बैठकले १८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै १९ कात्तिकमा औपचारिक रूपमा नयाँ एकीकृत पार्टी घोषणा गर्ने तयारी गरेको थियो । सोही मुताविक अहिले ‘नेपाली कम्युनिष्ट पार्टी’ बनेको छ । जसमा पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधवकुमार नेपाल सह–संयोजक बनेका छन् ।

‘विश्वका मजदूर एक हौं’ भन्ने नारा लगाउने कम्युनिष्टहरू आफैंमा चिराचिरा पर्नुले उनीहरूको भनाइ, आदर्श, नीति, सिद्धान्त र व्यावहारिक धरातलको अन्तरलाई प्रष्ट पार्दछ । यो सैद्धान्तिक र व्यवहारिक अन्तरले नेपालका कम्युनिष्टहरूको दर्शन, सिद्धान्त र स्कुलिङमै खोट छ कि भन्ने आशंकालाई पछिल्ला घटनाक्रमहरुले अझै बढाएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनभित्र टुट्फुटको श्रृंखला हेर्ने हो भने अत्यासलाग्दो छ । पुष्पलालको अगुवाइमा नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि नै विवाद शुरू भएका छन् । नेपाल कम्युनिष्ट पार्टीको नाममा पहिलो पर्चा छरेको दिन १० वैशाख २००६ (२२ अप्रिल, १९४९) लाई नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मान्ने कि पार्टीको केन्द्रीय समिति, विधान र घोषणापत्र जारी गरेको ३० भदौ २००६ (१५ सेप्टेम्बर, १९४९) लाई पार्टीको स्थापना दिवस मान्ने ? लामो समय यही विषयको विवादमा कम्युनिष्ट राजनीति केन्द्रित भइरह्यो ।

त्यसलगत्तै २००७ सालमै ‘गणतन्त्र कि राजतन्त्र ?’, ‘शान्तिपूर्ण आन्दोलन कि हतियारबद्ध आन्दोलन’ भन्ने बहसबाट शुरू भएको नीतिगत विवाद नेता पुष्पलाल र तुलसीलाल अमात्यको अन्तरविरोधसम्म आइपुग्दा ‘कुन बाटो ?’ र ‘अबको बाटो’ को पार्टीगत अन्तरविरोध र विवादमा तानियो । तत्पश्चात कम्युनिष्ट पार्टी समयानुकूल परिस्थितिको व्याख्या–विश्लेषणको बहानामा एक–अर्काबीच फगत आरोप–प्रत्यारोप गर्दै पटकपटक विभाजित भइरहेको छ ।

स्थापनाको चार वर्षपछि वि.सं. २०१० मा पार्टीको पहिलो महाधिवेशन मार्फत महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए । १४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । तिनै महासचिव रायमाझीका कारण २०१७ सालपछि कम्युनिष्ट पार्टी पहिलो पटक विभाजित भयो ।

१ पुस २०१७ मा राजा महेन्द्रले शासनसत्ता हातमा लिएपछि रायमाझीले कालान्तरमा दरबारलाई सहयोग पु¥याए भनियो । पुष्पलाल, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारी जस्ता नेताहरू पनि क्रमशः त्यतिखेरका शक्तिशाली कम्युनिष्ट राष्ट्रलाई हेर्ने दृष्टिकोणमा विभाजित भए ।

२०१९ मा तेस्रो महाधिवेशनले तुलसीलाल अमात्य महासचिव निर्वाचित भएपछि पार्टीमा विभिन्न गुट–उपगुट देखिए । रायमाझी समूह, तुलसीलाल समूह र पुष्पलाल तीन समूहमा पार्टी विभाजन भयो । उता रायमाझीले छुट्टै तेस्रो महाधिवेशन गरेर आफू महासचिव भएको घोषणा गरे । पछि फेरि यो समूह बर्मा र मानन्धरमा विभाजित भयो । २०२३ सालसम्म कम्युनिष्ट पार्टी लगभग अवसानको सँघारमा थियो ।

एकातिर पूर्व मेची कोशी प्रान्तीय कमिटी गठन भयो भने अर्कोतिर केशरजंगको समूह छुट्टियो । त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन गराए । २०२५ सालमा तेस्रो सम्मेलन गरी पुष्पलालको नेतृत्वमा पार्टी गठन भयो । तेस्रो महाधिवेशनबाट फुट भएको कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन भन्दै जेलबाट छुटेर आएका नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठहरूको नेतृत्वमा २०२८ सालमा केन्द्रीय न्युक्लियसको गठन भयो ।

२०२८ सालमा नेपाल कम्युनिष्ट आन्दोलनका अर्का दुईवटा प्रष्ट लाइन देखा परे । झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियस । पुष्पलाल समूहमा रहेको पूर्वकोशी प्रान्तीय कमिटीसँग सम्बद्ध झापा जिल्ला कमिटीले २०२७ सालको अन्त्यतिर झापामा सशस्त्र आन्दोलन शुरू ग¥यो । फलस्वरूप २०३२ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (माले) को गठन भयो । यसमा २०३४ मा मुक्ति मोर्चा र पूर्वको रातो झण्डा समूह लगायत धेरै कम्युनिष्टका झुण्डहरू एकताबद्ध भए र अन्त्यमा २०३५ सालमा नेकपा (माले) को स्थापना भएको थियो ।

यता मोहनविक्रम सिंहले २०३१ साल भदौमा चौथो महाधिवेशन गरी अर्को पार्टी बनाए । २०३६ मा एकता सम्मेलन गरी मनमोहन लगायतले नेकपाको घोषणा गरे । मोहनविक्रम सिंहको चौथो महाधिवेशनले २०३६ सालको जनमत संग्रहलाई बहिष्कार ग¥यो । जनमत संग्रहलाई लिएर पार्टीभित्र पुनः मतभेद शुरू भयो ।

२०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) भन्ने नयाँ दल बनायो । मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो । प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरेपछि फुटको शृंखला पुनः शुरू भयो । चौथो महाधिवेशनपछि को–अर्डिनेशन केन्द्र अर्थात झापा विद्रोह र पुष्पलाल समर्थकहरूको एकीकरणबाट नै पहिले (२०३५ मा) नेकपा (माले) र पछि (२०४७ मा) नेकपा (एमाले)का रूपमा परिणत भयो ।

उता २०४० सालपछि नेकपा (मशाल), नेकपा (मसाल), नेकपा (चौम) तीन समूहमा विभाजन हुन पुग्यो । २०४२ सालमा मोहनविक्रमले चित्रबहादुर केसीसहित चार जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी नेकपा मसाल बनाए । वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल राखियो ।

२०४५ सालमा नेकपा (मशाल) को सम्मेलन गरी प्रचण्ड महामन्त्री बने । एकताको दुई वर्षमै नयाँ पार्टीमा सशस्त्र युद्धको विषयलाई लिएर निर्मल लामाहरूले एकता केन्द्र छोडे । २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोख्रेलहरू मिलेर छुट्टै नेकपा (एकताकेन्द्र) गठन गरे ।

यता प्रचण्ड नेतृत्वले नेकपा माओवादी राख्यो र उसले १० वर्ष माओवादी ससस्त्र जनयुद्ध सञ्चालन ग¥यो ।

यसबीचमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रभित्र माओवादीलाई हेर्ने दृष्टिकोणमा फेरि मतभेद शुरू भयो । अनि २०६३ सालमा उनीहरू पनि फेरि फुटे । १० वर्ष सशस्त्र संघर्ष गरेर २०६२–६३ सालपछि खुला राजनीतिमा आएको नेकपा माओवादीमा पनि तीव्र रूपमा फुट भई मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द हुँदै पाँचवटा पार्टी बने । बाबुराम भट्टराईले त कम्युनिष्ट आन्दोलन नै छोडे ।

यसै सन्दर्भमा २०४६ सालको जनआन्दोलन सम्पन्न भएपछि २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भएर नेकपा (एमाले) बन्यो । २०५० जेठमा मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्युपछि माधवकुमार नेपाल नेकपा एमालेका महासचिव बने । २०५४ सालमा छैटौं महाधिवेशनमा वामदेव गौतमको फरक मतको लाइन र महाकाली सन्धि सम्बन्धमा विवाद भयो । अन्ततः २०५४ सालमै त्यस पार्टीमा पनि फुट भएर पुनः नेकपा (माले) को जन्म भयो ।

नेकपा (एमाले) को नवौं महाधिवेशन २०७१ सालमा माधव नेपाललाई पराजित गरी केपी शर्मा ओली निर्वाचित भए । २०७५ साल जेठमा एकीकृत भएका एमाले र माओवादी करीब तीन वर्षपछि २०७७ फागुनमा अलगअलग पार्टी भए । एमालेबाट पुनः फुटेर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ पार्टी दर्ता भएको थियो ।

सशस्त्र संघर्षको दस वर्षको अवधिमा माओवादी पार्टीभित्र अन्तरसंघर्ष चर्किए पनि पार्टी टुटफुट भएन । सशस्त्र संघर्षका बेला तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता डा.बाबुराम भट्टराई, रामबहादुर थापाबीच अन्तरसंघर्ष भए पनि पार्टी एकढिक्का हुँदै २०६३ मा प्रतिस्पर्धात्मक राजीतिमा आयो । जसमा मोहन बैद्य किरणको भूमिका पनि महत्वपूर्ण छ । संविधानसभामार्फत संविधान निर्माण र माओवादी ‘जनसेना समायोजन’ अघि बढेपछि तत्कालीन वरिष्ठ उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा माओवादी पहिलो पटक विभाजन भएको थियो ।

२०४५ सालदेखि प्रचण्डको नेतृत्वमा रहेको पार्टी औपचारिक रूपमा २०६९ असारमा विभाजन भएको थियो । वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले संस्थापनको संविधान निर्माण र शान्ति प्रक्रियाप्रति असहमति जनविद्रोहको नीति लिँदै क्रान्तिकारी माओवादी गठन गरेका थिए । हाल वैद्यले महासचिव छाडेर वरिष्ठ नेता सीपी गजुरेललाई नेतृत्व सुम्पेका छन् । माओवादीमा आएको यो नै सबैभन्दा ठूलो विभाजन थियो ।

शान्ति प्रक्रियामा आएपछि २०५१ मा छुटेर गएको नेकपा एकता केन्द्र माओवादीमा मिसियो । तत्कालीन महासचिव निर्मल लामाको नेतृत्वमा नेकपा एकता केन्द्र विभाजन भएको थियो भने पुष्पकमल दाहाल नेतृत्वमा माओवादी गठन भयो ।

२०५१ असारमा नेकपा (एकता केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामा समूह अलग भएको थियो । माओवादी सशस्त्र संघर्ष सुरु गर्ने नीतिप्रति असमति जनाउँदै एकता केन्द्र शान्तिपूर्ण बाटोमा अघि बढ्यो । दसवर्षे सशस्त्र संघर्ष बिसाएपछि माओवादी र नेकपा एकता केन्द्र मसालबीच एकता सम्भव भयो ।

२०६५ पुसमा नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेकपा (एकता केन्द्र मसाल) बीच पार्टी एकता भएको थियो । त्यसबेला पार्टीको नाम एकीकृत नेकपा (माओवादी) र नेकपा एमालेबीच २०७५ जेठमा एकता भएपछि माओवादीले नाम र माओवाद छाडेको थियो । तर सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपाको मुद्दामा एमाले र माओवादी अलग गरेपछि माओवादी पुरानै पथमा फर्किएको थियो ।

२०६९ मा मूल माओवादीबाट वैद्यतिर लागेका नेताहरू रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसालले २०७३ जेठमा माओवादीमै फर्केपछि नेकपा (माओवादी केन्द्र) राख्ने निर्णय भएको थियो । थापाले २०७३ जेठमा क्रान्तिकारी माओवादी फुटाएर माओवादीको मूल धार समातेका थिए ।

वैद्य माओवादीले जनविद्रोहको नीति कार्यान्वयन हुन नसकेपछि नेत्रविक्रम चन्द विप्लवले ०७१ मंसिरमा पार्टी विभाजन गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए ।

सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिमा आएको र २०६४ सालमा सबभन्दा ठूलो दल बनेको माओवादी अनेकौं टुटफुटपछि खुम्चिएको थियो । त्यस्तै माओवादी जनयुद्धकै प्रभावशाली नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति बनाएका बेला राम कार्कीले पनि समर्थन जनाएका थिए पछि पुन फर्किए, बाबुरामले जसपा हुँदै नेसपा (नयाँ शक्ति) बनाएका थिए । पछिल्लो समय नेतृत्व पनि दुर्गा सोबलाई हस्तान्तरण गरेर मुक्त छन् ।

माओवादी आन्दोलनबाटै आएकाहरू पनि साना गुट र उपगुटमा सीमित छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा धर्मेन्द्र बास्तोला महासचिव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीमा आहुति महासचिव, आम जनता पार्टीमा प्रभु साह अध्यक्ष छन् । माओवादी कम्युनिस्ट पार्टीमा रामनारायण पाल महासचिव छन् । माओवादीका नाममा अरु दल पनि निर्वाचन आयोगमा दर्ता छन् ।

पछिल्लो एकता प्रक्रियाप्रति असमति जनाउँदै माओवादी केन्द्रका सचिवालय सदस्य जनार्दन शर्मा र राम कार्कीले अर्को अभियान सुरु गरेका छन् । योसँगै माओवादीको इतिहास जुट्ने र फुट्नेमा अरुभन्दा अब्बल नै देखिन्छ ।