कटहरीको तेल उद्योगमा आगलागी, तीनजना घाइते

कटहरीको तेल उद्योगमा आगलागी, तीनजना घाइते

विराटनगर। मोरङको कटहरी गाउँपालिका–४ जामुनगाछीस्थित जय हनुमान आयल इन्डस्ट्रीज प्रालिमा शुक्रबार राति ग्यास लिक भई आगलागी हुँदा तीन जना घाइते भएका छन्।

गएराति करिब १२:१० बजे ग्यास लिक भएर आगो लागेको र प्रहरीले कटहरी प्रहरी चौकीबाट खटिएको टोलीले करिब १२:५५ बजे आगो नियन्त्रणमा ल्याएको जनाएको छ।

घाइतेहरूमा फ्याक्ट्रीका जनरल म्यानेजर भारतका ३० वर्षीय अर्जुन पण्डित, स्थानीय कामदार २२ वर्षीय दिपक कामत र पर्सा बिरगंजका २९ वर्षीय अलि आलम रहेका छन्। पण्डित र कामतको अनुहार तथा हातखुट्टा जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। आलमको घाटी र कपाल जलेको र अवस्था सामान्य छ। तीनै जना घाइतेलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ।

आगलागीबाट केही ग्यास सिलिन्डरमा क्षति पुगेको र अन्य क्षतिको विवरण संकलन कार्य भइरहेको प्रहरीले बताएको छ।