दुई दिनको गिरावटपछि बढ्यो नेप्से

दुई दिनको गिरावटपछि बढ्यो नेप्से

विराटनगर । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो ।

यस दिन नेप्से परिसूचक १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक बढेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ४२ हजार ८७९ पटकको कारोबारमा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँबराबरको ९२ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मंगलबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य यस दिन ३४ रुपैयाँ ९० पैसा बढेर ३८४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने नेपाल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।
कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.४८ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३८ करोड ६१ लाख ५२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको साढे ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ । बजारका उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ ।

यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४१ प्रतिशत बढेको छ । अरु बढेका उपसमूहहरुको वृद्धिदर भने सामान्य घटेको छ । यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो ।