उत्पादन खेर जाँदै

उत्पादनले बजार नपाएर नष्ट हुन थालेपछि युवाहरुमा निराशा

इटहरा । प्रवासको सिप र पुँजीलाई प्रयोग गर्दै युवालाई स्वरोजगार बनाउने उद्देश्यले स्थापित रतुवामाई बैदेशिक रोजगार समन्वय समिति लकडाउनले मर्कामा परेको छ । स्थापनाकालको छोटो समयमा नै उत्पादनले बजार नपाएर नष्ट हुन थालेपछि युवाहरुमा निराशा छाएको छ ।

रतुवामाई नगरपालिका वडा नम्बर १ कल्याण्पुरमा करिब एक बिगाहा क्षेत्रफलमा लागाइएको भिन्डी बिक्रीको लागि तयारी भइसकेको अवस्थामा लकडाउनका कारण बजार लैजान समस्या परेकाले खेर जान थालेको समितिका उपाध्यक्ष मन्दिरा कार्कीले बताउनुभयो । गत जेठ २ गते भारतबाट आएका रतुवामाई १ सोनापुरका २४ वर्षीय युवकमा संक्रमण देखिएपछि उक्त क्षेत्र शिल गरिँदा विक्री विपतरणमा समस्या परेको हो ।

यस्तै रतुवामाई ६ मा उत्पादित बोडीले समेत आवजजावतको समस्या हुँदा बजार पाउँन सकेको छैन । पहिलो पटक समूहले गरेको परिक्षण खेतिले आशातित बजार नपाउँदा युवाहरुमा निराशा छाउन सक्ने देखिएको छ ।

चैत ११ बाट नियमित सरकारले लगाएको लकडाउनका बावजुत पनि युवाहरु उत्पादन र बिक्री वितरणमै थिए । पछिल्लो समय नगरका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि उक्त संस्थाले सुरुवाती चरणमै बजारीकरणको अभाव झेल्नु परेको हो ।

‘संस्थाले हप्ताको तीन पटक ४० देखि ५० किलोको परिणममा उत्पादन गरेको भिण्डी पछिल्ला १० दिन यता गाईवस्तुलाई खुवाउन बाध्य भएका छौँ,’ उपाध्यक्ष मन्दिरा कार्कीले भन्नुभयो, ‘संस्थाले बोडी पनि उत्तिकै परिणममा उत्पादन गर्दै आएको थियो । बोडी पनि अहिले गाई वस्तुलाई खुवाउन संस्था बाध्य छ ।’

स्थानीय बजारमा राम्रो मुल्य नपाइरहेको बेला लकडाउनले संकट निम्त्याउँदा प्रारम्भिक लगानी उठाउन असहज देखिएको संस्थाका सदस्य रमेश पौडेलले बताउनुभयो ।

‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले ल्याएको क्षणिक संकट, संसारले अबलम्बन गर्ने कुषि उद्योग, प्रवासको सास्तीपूर्ण अवस्थालाई मध्यनजर गर्दै अब विश्वले अगिंकार गर्ने समाजवादी उत्पादन प्रणालको जग बसाल्ने प्रयास गरिरहेका छौ,’ संयोजक न्यौपानेले भन्नुभयो, ‘हालको संकटले सिकाएको पाठलाई गम्भीर समीक्षा गर्दै अघि बढ्छौँ ।’

कृषि उत्पादन गर्ने र स्वरोजगार हुने सामूहिक युवाको प्रयासलाई संघ, प्रदेश र स्थानीय सरकार सबैले सहकार्य गर्नुपने पनि न्यौपानेले बताउनुभयो ।

आइतबार, १८ जेठ, २०७७, साँझको ०५:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर