उदयपुर । उदयपुरको दुर्गम क्षेत्रका किसानहरूको मुख्य आम्दानीको स्रोत बनेको तेजपत्ता नबिकेपछि किसानहरू निराश बनेका छन् ।
सडकको समस्याका कारण तेजपत्ता नबिकेपछि किसानहरूले तेजपत्ता नकाटी बोटमै छाड्न थालेका छन् ।
तेजपत्ता पहाडी तथा दुर्गम क्षेत्रमा जस्तोसुकै भिरालो जमिनमा पनि पाइन्छ । जडीबुटी र मसलाका लागि बहुउपयोगी मानिने तेजपत्ता अर्थात् सिन्कौलीको पात नै पहाडी क्षेत्रका किसानको आम्दानीको स्रोत हो । दुर्गम गाउँसम्म पुग्ने सडक नभएकै कारण तेजपत्ता बिक्री गर्न नसकिएको उदयपुरगढी २ बर्रेका स्थानीय किसान जीवन मगरले बताउनुभयो ।
भौगोलिक विकटताका कारण ३ घण्टाको उकालो बाटो भारी बोकेर तेजपत्ता बेच्न नसकिने उनको भनाइ छ । बजार पु¥याउन सके नबिक्ला कि भनेर चिन्तै गर्नु नपर्ने स्थानीय ७० वर्षीय दलबहादुर मगरले बताउनुभयो ।
तेजपत्ता एक प्रकारको जडीबुटी हो । यसलाई चिया वा तरकारीमा राखेर स्वाद लिन सकिन्छ । खानेकुरामा मसलाको रुपमा उपयोग गरिने तेजपत्ता स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक जडीबुटी हो । सुगन्धित स्वाद हुने यसको पत्तामा आवश्यक पोषक तत्व र खनिजसहित भिटामिन ए र सी पाइन्छ।
औषधीय गुणयुक्त तेजपत्ता क्यान्सर जस्ता घातक रोगमा पनि फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ ।