विराटनगर । विराटनगर जेसीजले यस वर्ष पनि सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमा केन्द्रित विभिन्न कार्यक्रमहरू सहित ‘जेसीज वीक–२०२५’ आयोजना गर्ने घोषणा गरेको छ ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमार्फत कात्तिक १६ देखि २१ गतेसम्म सञ्चालन हुने जेसीज सप्ताहको विस्तृत कार्यक्रम सार्वजनिक गरिएको हो ।
कार्यक्रमको शुभारम्भ आइतबार बिहान ७ ः३० बजे मैत्रीपूर्ण फुटसल प्रतियोगिताबाट हुनेछ । उक्त प्रतियोगिता विराटनगर जेसीज र नेपाल पत्रकार महासंघ मोरङबीच हुनेछ । उद्घाटन कार्यक्रमको संयोजन सनराइज चौधरीले गर्नेछन् ।
जेसीज सप्ताहको दोस्रो दिन, सोमबार जेसीज बाल सदन माध्यमिक विद्यालयमा दन्त परीक्षण कार्यक्रम आयोजना गरिनेछ भने सोही दिन बाल सुधार गृह, विराटनगरमा ूमायाको कोसेलीू वितरण गरिनेछ । मंगलबार, बिराट बहिरा माध्यमिक विद्यालयमा कला कार्यक्रम आयोजना हुनेछ ।
त्यसैगरी, बुधबार नोबेल अस्पताल, विराटनगरमा सडक सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरी रिफ्लेक्स लाइट वितरण गरिनेछ । बिहीबार, विराटनगर जेसीजको सचिवालयमा कौसी खेती तालिम कार्यक्रम राखिएको छ ।
साताव्यापी कार्यक्रमको समापन शुक्रबार होटल स्वागतम, विराटनगरमा आयोजना हुने ‘समापन तथा सम्मान कार्यक्रम’ मार्फत गरिनेछ । उक्त कार्यक्रममा समाजमा विशेष योगदान पुर्याएका दुई युवा व्यक्तित्वलाई सम्मान गरिनेछ । समापन कार्यक्रमको संयोजन आरके मण्डलले गर्नेछन् ।
विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले जेसीज वीकमार्फत युवाहरूमा नेतृत्व क्षमता, सामाजिक जिम्मेवारी र सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए । उनले भने, “हामीले समाजमा सकारात्मक परिवर्तन ल्याउने साना तर प्रभावकारी कदमहरू लिँदै आएका छौँ, यस वर्षको जेसीज वीक पनि त्यसैको निरन्तरता हो ।”
कार्यक्रमका मुख्य संयोजक तथा विराटनगर जेसीजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष कविराज दाहालले सम्पूर्ण कार्यक्रमहरू योजनाबद्ध रूपमा सञ्चालन हुने जानकारी दिए । उनले भने, “एक साताभरि विभिन्न क्षेत्रमा केन्द्रित कार्यक्रमहरू मार्फत जेसीजको सामाजिक प्रतिबद्धता र सामुदायिक सहकार्यको सन्देश फैलाउने हाम्रो उद्देश्य हो ।”


 
						 
															 
															 
															 
															 
															 
															