विराटनगर । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाई क्षेत्रमा कोशी लोकमार्ग करिब १० मिटर सडक भासिएको छ। धरान–धनकुटा सडकखण्डको उक्त स्थानमा सडक भासिँदा यातायातमा आंशिक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार, शुक्रबार बिहान ११ः०० बजेको समयमा सडक भासिएको हो। सडकको एक भाग पूर्ण रूपमा अवरुद्ध भए पनि साना सवारी साधनहरू जोखिम मोलेर एकतर्फी रूपमा आवतजावत गरिरहेका छन्।
इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले सडक पूर्ण रूपमा सुचारु गर्नका लागि आवश्यक पहल गरिरहेको छ।
प्रहरीले ठूला सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा बाटो खुल्ने समयसम्म धैर्य गर्न अनुरोध गरेको छ।


 
						 
															 
															 
															 
															 
															 
															