विराटनगर । भदौ २४ गतेको जेन्जी आन्दोलनको क्रममा आगजनी गरी ध्वस्त बनाइएको कोशी प्रदेश सभाको सचिवालय र सभाहल मोरङको कटहरी गाउँपालिकास्थित कृषि बजारमा सार्ने तयारी गरेको छ ।
आन्दोलनका क्रममा आगजनी गरिएको प्रदेश सभाको सचिवालय भवन र प्रदेशसभा भवन प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेपछि नयाँ स्थानको खोजी भएको हो।
यसअघि विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा प्रदेश सभा सञ्चालन गर्ने चर्चा भएको थियो। तर, विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको सभागृहको भाँडा महँगो पर्ने भएपछि कृषि बजारमा सभा सार्ने तयारी भएको हो।
कटहरीको कृषि बजारलाई अस्थायी प्रदेशसभा स्थलका रूपमा प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सभाको सचिवालय भवन काम नलाग्ने भएपछि अहिले सभा परिसरमा रहेको मिडिया सेन्टरबाट सचिवालयको काम सञ्चालन भइरहेको छ ।
सभामुख अम्बरबहादुर विष्टका अनुसार आगजनीपछि साविकको स्थानमा प्रदेशसभा बैठक बस्नसक्ने अवस्था छैन भने अन्य भेटघाट वा बैठक गर्नसमेत उपयुक्त ठाउँ बाँकी छैन । सभामुखको नेतृत्वमा रहेको प्रदेशसभा सचिवालय व्यवस्थापन तथा सञ्चालन समितिले प्रदेशसभा कटहरीको कृषि बजारमा सार्ने निर्णय गरिसकेको छ ।
प्रदेशसभा सार्ने निर्णयपछि बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभामुख विष्ट, मन्त्रीहरू र सांसदहरूसहितको टोलीले कटहरीस्थित कृषि बजारको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि उक्त संरचना प्रदेशसभा सञ्चालनका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको सभामुख विष्टले बताए ।

मुख्यमन्त्री कार्कीका अनुसार कृषि बजारको संरचनामा प्रदेशसभा बैठकका लागि मात्र नभई संसदीय समिति, दलका कार्यालय र सचिवालयका विभागहरूका लागि समेत पर्याप्त ठाउँ उपलब्ध छ । उनका अनुसार प्रयोगविहीन अवस्थामा रहेको उक्त भवन प्रयोगमा ल्याउँदा प्रदेशको खर्च घट्ने र कटहरी गाउँपालिकासँगको समन्वयमा प्रभावकारी रूपमा काम अघि बढाउन सकिनेछ ।
आवश्यक तयारी पूरा भएपछि त्यहीँ सभा सञ्चालन गर्न सकिने प्रदेश सरकारले जनाएको छ । कृषि बजारको भवनको स्वामित्व प्रदेश सरकारसँग भएपनि त्यसको सञ्चालनको जिम्मा कटहरी गाउँपालिकालाई दिइएको छ। त्यसैले प्रदेश सरकारले अन्तिम निर्णय गर्नुअघि कटहरी गाउँपालिकासँग औपचारिक सहमति लिने तयारी गरेको छ ।
मुख्यमन्त्री कार्कीका अनुसार पालिकाका अध्यक्ष र उपाध्यक्षसँग प्रारम्भिक सहमति भइसकेको छ र औपचारिक पत्रको पर्खाइमा छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले भने, सर्वदलीय र कार्यपालिकाको बैठक बसेर छिट्टै औपचारिक निर्णय लिइने बताए ।
व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले १३ करोड ७६ लाख ५४ हजार ७९० रुपैयाँ (भ्याट बाहेक) लागतमा निर्माण गरेको कटहरी कृषि बजार पूर्णरूपले सञ्चालनमा आउन सकेको छैन। कृषि बजार बनेपछि विराटनगरमा रहेको गुद्री बजार सार्ने प्रयास भएपनि सफल भएन ।
कृषि बजारमा खुद्रा तथा थोक बिक्री कक्ष, क्यान्टिन, क्लिनिक, बैंक, किसानका लागि विश्राम कक्ष, प्रशासनिक भवन, शौचालय र पार्किङसहितका पूर्वाधार छन् । बजारमा हाटबजार लागे पनि भवनहरू प्रयोगविहीन अवस्थामा छन् ।



 
						 
															 
															 
															 
															 
															 
															