विराटनगर । कोशी प्रदेशको धार्मिक तथा ऐतिहासिक स्थल वराहक्षेत्रमा लाग्ने प्रसिद्ध हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
वराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिर परिसरमा हरेक वर्षझैँ यस वर्ष पनि पाँच दिनसम्म मेला आयोजना गर्न लागिएको हो ।
वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार यो वर्षको हरिबोधिनी एकादशी मेला कात्तिक १५ गते शनिबार एकादशीको दिनबाट सुरु भई कात्तिक १९ गते बुधबार पूर्णिमाको दिनसम्म सञ्चालन हुनेछ । मेलाको सम्पूर्ण व्यवस्थापन वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समिति, नगरपालिका र वडा कार्यालयको समन्वयमा गरिँदै आएको छ ।
मेलाको तयारी अन्तिम चरणमा पुगेको समितिका उपाध्यक्ष राजु घिमिरेले जानकारी दिए । उनका अनुसार मन्दिरमा रङ्गरोगन, कोशी नदी किनारमा स्नान घाटको व्यवस्था, विद्युत्, खानेपानी र बजार व्यवस्थापनलगायतका आवश्यक तयारी पूरा भइसकेका छन् । बाँकी तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
नगर प्रमुख रमेश कार्कीका अनुसार भक्तजनहरूको सुरक्षाका लागि नदी किनारमा बाँसको बार लगाइने, उज्यालोका लागि अतिरिक्त बत्तीहरू जडान गरिने, मेला परिसरको बगर सम्याउने र सरसफाइ निरन्तर राख्ने व्यवस्था मिलाइएको छ । नगरपालिकाले मेलालाई व्यवस्थित र आकर्षक बनाउन विशेष तयारी गरिरहेको उनले बताए ।
वराहक्षेत्रलाई नेपालकै प्रमुख धार्मिक तीर्थमध्येको एक मानिन्छ । भारतका रुरुक्षेत्र र कुरुक्षेत्रजस्तै नेपालका मुक्तिक्षेत्र र वराहक्षेत्रलाई चारधाममध्ये एकका रूपमा लिइने भएकाले हरेक वर्ष नेपालसहित भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजनहरू मेला भर्न आउने गर्छन् ।
यो वर्ष पनि करिब चारदेखि पाँच लाखसम्म भक्तजन मेला भर्न आउने अनुमान गरिएको वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका कोषाध्यक्ष रवि श्रेष्ठले बताए ।
वराहक्षेत्रका पण्डित योगेश वराहक्षेत्रका अनुसार हरिबोधिनी एकादशीको मेलामा भक्तजनहरू आफ्नो भाकल पूरा गर्न, विवाह वा नयाँ कार्य प्रारम्भ गरेपछि दर्शन गर्न र मनोकाङ्क्षा पूर्ति हुने विश्वासका साथ आउने गर्छन् । परापूर्वकालदेखि नै हरिबोधिनी एकादशीको अवसरमा वराहक्षेत्रमा यस्तो मेला लाग्दै आएको जनाइएको छ ।


 
						 
															 
															 
															 
															 
															 
															