विराटनगर । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक प्रभावका कारण मधेश र कोशी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।
शनिबार बिहानदेखि जारी रहेको वर्षामा पछिल्लो मापनअनुसार मोरङको हरैंचामा सबैभन्दा बढी १०४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार मोन्था चक्रवातको प्रणाली आज पनि कोशी र मधेश प्रदेशमा केन्द्रित रहनेछ । त्यसको प्रभावले यी प्रदेशका केही स्थानमा आज थप भारी वर्षा हुने सम्भावना रहेको छ ।
विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा र अन्य प्रदेशहरूमा हल्का वर्षा हुने अनुमान गरिएको छ । यससँगै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावनासमेत रहेको विभागले जनाएको छ ।
प्रवक्ता पोखरेलका अनुसार शुक्रबार साँझपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ । भोलि शनिबार बिहानदेखि भने मौसममा सुधार आउने सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ।


 
						 
															 
															 
															 
															 
															 
															