लगातारको वर्षापछि मेची राजमार्ग र तमोर करिडोरसहित कोशीका चार सडक अवरुद्ध

विराटनगर । निरन्तरको वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरो गएपछि चारवटा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् ।

मेची राजमार्ग, तमोर करिडोर, सिद्धिचरण लोकमार्ग र रवि–राके–भेडेटार भित्री सडकखण्डमा आवागमन पूर्ण रूपमा बन्द भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका–२ र धनकुटाको चौबिसे गाउँपालिका–४ को सिमानामा पर्ने नावा खोलामा आएको बाढीले धरान–धनकुटा–मूलघाट हुँदै पाँचथर–ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको हो । पानीको तीव्र बहावले सडकका केही भाग भासिएका छन् । नजिकैको प्रहरी एकाइ अस्थायी प्रहरी चौकी नावाखोलाले अवस्थाको निगरानीमा रहेको जनाएको छ ।

त्यसैगरी इलामको राजदुवाली क्षेत्रस्थित मेची राजमार्ग पनि अवरुद्ध भएको छ । गत असोजमा आएको बाढीपहिरोले क्षति पुगेपछि खोलेको नयाँ ट्र्याकका विभिन्न स्थानमा पुनः पहिरो गएर सडक धसिएको छ ।

मोन्था चक्रवातको आंशिक प्रभावले कोशी प्रदेशका इलामसहितका जिल्ला समेत जोखिममा पर्ने पूर्वानुमान सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालयले सो सडकखण्डमा बिहीबार साँझदेखि सवारी आवागमनमा रोक लगाएको थियो ।

इलाम नगरपालिका–१० शिल्पुरदेखि नगरपालिका–८ तिल्केनीसम्मको भित्री सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भन्डारे खोलामा आएको बाढीले सिद्धिचरण लोकमार्गमा क्षति पु¥याएको छ । खोलामा पानीको बहाव अत्यधिक बढेकाले सडक अवरुद्ध भएको र प्रहरी चौकी हर्कपुरले उक्त क्षेत्रमा परिचालन बढाएको जानकारी दिइएको छ ।

त्यसैगरी धनकुटाको सागुरीगढी गाउँपालिका–५ लुम्फुजुङस्थित रवि–राके–भेडेटार भित्री सडकखण्ड पनि वर्षाका कारण भासिएर अवरुद्ध भएको छ । नजिकैको प्रहरी चौकी डाँडाबजारले सडक सुरक्षाका उपायका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

हालसम्म कुनै पनि सडक खुल्ने मिति तोकिएको छैन र वैकल्पिक मार्ग पनि उपलब्ध छैन, जसका कारण यात्रुहरू असहज बनेका छन् । मौसमविद्हरूका अनुसार मोन्था चक्रवातको आंशिक प्रभावले इलामसहित कोशीका पहाडी क्षेत्रहरूमा अझै केही दिन वर्षा जारी रहने सम्भावना छ ।

कार्तिक १४, २०८२, बिहानको १०:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर