बिजुली काटिएपछि अन्यौलमा रिलायन्सका मजदुर : सडकमा बस्ने कि भारत पस्ने ?

विराटनगर । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटेपछि विगत ९ दिनदेखि बन्द रहेको सुनसरीको रिलायन्स स्पिनिङ मिल खुल्ने निश्चित नहुँदा त्यहाँ कार्यरत हजारौं मजदुर अन्यौलमा परेका छन् ।

प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको महसुल बक्यौता भुक्तानी नगरेको भन्दै कात्तिक ३ गते उद्योगको लाइन काटिदिएपछि देशकै ठूलो धागो उद्योग ठप्प छ । जसको प्रत्यक्ष मारमा त्यहाँ कार्यरत झण्डै ४ हजार मजदुर परेका छन् । त्यसमा पनि ज्यालादारी तथा करार सेवाका कामदारहरुले रोजगारी गुमाउनु पर्ने अवस्था छ ।

दसैं–तिहार मनाएर काममा फर्किएका मजदुरहरू उद्योग बन्द हुँदा निराश बनेका छन् । उद्योग परिसरमा भेटिएकी गीता सापकोटाको अनुहारमा उद्योग बन्द हुँदाको चिन्ता प्रष्ट देखिन्थ्यो । जेनेरेटर र सोलारबाट जेनतेन दुईवटा प्लान्टमा केही मजदुरले काम पाए पनि त्यो कहिलेसम्म हो भन्ने निश्चित छैन । ‘हामीसँगै काम गर्ने धेरै साथीहरू अहिले बेरोजगार हुनुहुन्छ । उद्योग कहिले खुल्छ थाहा छैन, यसरी हामीले पनि कति दिन काम गर्न पाउँछौं टुङ्गो छैन ।’

अर्का मजदुर डिल्लीराम कोइरालाले देशभरका मजदुर काम गर्ने ठूला उद्योगहरुलाई बिनाकारण यसरी पटक पटक बन्द गर्न नहुने बताए । उनले भनिन्, ‘यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ७७ वटै जिल्लाका गरिब मानिसहरू काम गर्छन् । अब उहाँहरूले के गर्ने ? सबै अन्यौलमा हुनुहुन्छ ।’ उनले सरकारले मजदुरलाई अलपत्र पार्न नहुने र उद्योग चल्ने वातावरण बनाउनुपर्ने बताए ।

उद्योग र सरकारबीचको विवादको चेपुवामा आफूहरू परेको मजदुरहरूको गुनासो छ । ‘यो त साँढेको जुधाइ बाछाको मिचाइ भयो,’ उद्योगका मजदुर उमेशचन्द्र आचार्यले भने, ‘हामी मजदुरसँग अब धेरै विकल्प छैन । कि थाल लिएर सडकमा बस्नुप¥यो, कि आन्दोलन गर्नुप¥यो ।’ उनले उद्योग बन्द गर्ने होइन सरकार जिम्मेवार बनेर उद्योग चलाएरै समस्याको समाधान खोज्नुपर्ने बताए ।

उद्योगका व्यवस्थापक महेश पोखरेलका अनुसार, प्राधिकरणले लाइन काटेपछि उत्पादन पूर्ण रूपमा ठप्प छ । उद्योगभित्रको आवासमा बस्ने करिब १५ सय मजदुरको दैनिकी चलाउन र केही स्थायी कर्मचारीलाई काम दिन मात्रै जेनेरेटर र सोलारको बिजुलीबाट दुईवटा प्लान्ट आंशिक रूपमा चलाइएको छ, त्यसबाट उत्पादन क्षमताको करिब ३ प्रतिशत जति मात्र उत्पादन भइरहेको छ । ‘जेनेरेटरबाट प्रतियुनिट ३०–३५ रुपैयाँको बिजुली बालेर उद्योग चलाउन सम्भव छैन,’ पोखरेलले भने, ‘यो अवस्थालाई उद्योगले धेरै दिन थेग्न सक्दैन ।’ उद्योग बन्द हुँदा करिब ४ हजार मजदुर र कर्मचारीको रोजगारी जोखिममा परेको र यसरी धेरै दिन चल्ने अवस्था पनि नरहेको उनको भनाइ छ ।

रिलायन्स स्पिनिङ मिल्सले सामान्य अवस्थामा दैनिक ३० मेट्रिक टन धागो उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्षमा उद्योगले करिब ११ अर्ब रुपैयाँ बराबरको धागो निर्यात गरेको थियो भने करिब ३ अर्बको धागो आन्तरिक बजारमा बिक्री गरेको पोखरेलले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेबापतको बक्यौता रकम दाबी गर्दै आएको छ, तर उद्योगले आफूले उक्त सुविधा प्रयोग नगरेको र प्राधिकरणले त्यसको प्रमाण उपलब्ध गराउन नसकेको बताउँदै आएको छ । यही विवादका कारण सुरुमा अदालतमा विचाराधीन रहेको मुद्दा, पछि प्राधिकरणले नै गठन गरेको पुनरावेदन समितिमा उद्योग सहभागी हुँदा थप जटिल बनेको थियो । अन्ततः प्राधिकरणले उक्त समिति नै खारेज गरेपछि विवाद झनै गहिरिएको हो ।

यसैबीच सरकारले यसअघि गठन गरेको पुनरावेदन समिति खारेज गरेको र अहिले फेरि विद्युत काटेर उद्योग बन्द गरिएको भन्दै त्यसविरुद्ध न्यायिक निरुपणका लागि अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटनमा दिएको रिट निवेदनमाथि कात्तिक १९ गते छलफल गर्ने तय भएको छ ।

कार्तिक १३, २०८२, बिहानको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर