विराटनगर । नेपालमा थप एक जनाको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको कारण मृत्यु भएको छ ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गर्नुभएको छ । शनिबार बिहान दुल्लु नगरपालिका–११ का ३५ वर्षीय ती युवकको क्वारेन्टाइनमा मृत्यु भएको हो ।
तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । भारतबाट ७९ जना साथीसहित फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिनपछि मृत्यु भएको हो । कोरोनाबाट युवकको मृत्यु भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १/१ जनाको मृत्यु भएको थियो ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुमध्ये एक जनाको मात्र जिवित छँदा संक्रमण पुष्टि भएको हो । बाँकी ७ जनाको मृत्यु भइसकेपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
शनिबारसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये २ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन्। (रातोपाटी अनलाईन)