काठमाडौँ । मुलुकमा आसन्न निर्वाचनको वातावरणलाई सुमधुर बनाउने उद्देश्यले नेपाल सरकारले पहिलोपटक राजनीतिक दलहरू र जेनजी प्रतिनिधिहरूसँग संयुक्त रूपमा त्रिपक्षीय बैठक आयोजना गर्ने भएको छ । बैठक बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, निर्वाचनलाई सफल बनाउन सबै पक्षसँगको सहकार्य अपरिहार्य रहेकोले यो संयुक्त बैठक आयोजना गरिएको हो । उनले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले राजनीतिक दल तथा अन्य सरोकारवालाहरूसँग निरन्तर छलफल गरिरहेको जानकारी दिए ।
यसअघि, प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा कात्तिक ४ गते सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा सबै पक्षबीच सकारात्मक समझदारी बनाएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीलेजी जेनजीका प्रतिनिधिसँग पनि संवाद गरिसकेकी छन् । सिंहदरबारमा भएको भेटमा जेनजी युनाइटेडका प्रतिनिधिहरूले आफ्ना माग र सरोकारहरू प्रस्तुत गरेका थिए ।सरकारले निर्वाचन आयोगसँग पनि छलफल गरेको छ । आयोगले पनि निर्वाचनका लागि आन्तरिक तयारी गरीरहेको जनाइएको छ। .


