विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय संस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै इच्छुक संस्थाहरूलाई आवश्यक कागजातसहित १५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको हो ।
आगामी २०८२ साल फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न पर्यवेक्षण महत्त्वपूर्ण मानिन्छ । यही उद्देश्यले आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची –२ बमोजिमको ढाँचामा आवेदन दिन सूचित गरेको छ ।
आयोगको सूचनामा भनिएको छ, ‘आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि देहायका कागजातहरू सहित निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची –२ बमोजिमको ढाँचामा निवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
पर्यवेक्षणको निष्पक्षता कायम राख्न आयोगले केही सर्तहरू पनि अघि सारेको छ । कुनै पनि व्यक्तिले आफ्नो स्थायी बसोबास भएको वा मतदाता नामावलीमा नाम रहेको गाउँपालिका वा नगरपालिकाको वडामा पर्यवेक्षण गर्न पाउने छैनन् । पर्यवेक्षक संस्थाहरूले निर्वाचन प्रक्रियाको अनुगमन गरी आफ्नो प्रतिवेदन पेस गर्नेछन् ।


