विराटनगर । तिहार पर्व सकिएलगतै तराई मधेशमा उल्लासका साथ मनाइने छठ पर्वको तयारी थालिएको छ । कात्तिक शुक्ल चौथीबाट सुरु हुने छठ पर्व भोलिबाट सुरु हुँदैछ । आज कात्तिक शुक्ल तृतीया तिथि रहेकोले भोलि कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत रुपमा छठ पर्वको सुरुवात हुनेछ। यस पर्वलाई स्वच्छता, पवित्रता र श्रद्धाको प्रतीक मानिन्छ। यस वर्षको छठ पर्व नजिकिँदै गर्दा भक्तजनहरु पर्वको तयारीमा जुटेका छन् । बजारमा छठ पर्व लक्षित किनमेल सुरु भइसकेको छ ।
छठ पर्वको तयारीस्वरूप अहिले तराई मधेशका घरघरमा सरसफाइको कामसँगै नदी, तलाउ, पोखरी आदिमा घाटहरुको सरसफाइ र सजावटको काम पनि सुरु गरिएको छ ।
छठी माताको पूजाका लागि विशेष परिकारहरू तयार पार्ने सामग्रीको जोहो गर्न बजारमा पनि चहलपहल बढेको छ। छठी माताको पूजाका लागि चाहिने बाँसका डाली, नाङ्लो, माटोका दियो, घैलो, ढकनी, ठेकुवा बनाउने साँचो लगायतका सामग्रीहरूको माग बढेको छ।
छठ पर्वको विधि र महत्व
छठ पर्व मुख्यतः चार दिनसम्म मनाइन्छ। यसको हरेक दिनको आफ्नै महत्व र विधि छ।
पहिलो दिन: नहाय खाय (कात्तिक शुक्ल चतुर्थी)
पर्वको पहिलो दिनलाई नहाय खाय भनिन्छ। यस दिन ब्रतालुहरू बिहानै उठेर नजिकको पवित्र नदी वा तलाउमा स्नान गर्छन्। नुहाएपछि चोखो वस्त्र धारण गरी शुद्ध भोजन गर्छन्। विशेषतः यस दिन अरुवा चामलको भात, दाल र फर्सीको तरकारी (लौका) खाने चलन छ। यो दिनदेखि ब्रतालुहरूले माछा, मासु, प्याज, लसुन लगायतका तामसी भोजन त्याग्छन्।
दोस्रो दिन खरना (कात्तिक शुक्ल पञ्चमी)
दोस्रो दिनलाई ‘खरना’ भनिन्छ। यस दिन ब्रतालुहरू दिनभरि निराहार व्रत बस्छन्। साँझपख नुहाई धुवाई गरी चोखो भान्सामा गाईको गोबरले लिपेर शुद्धिकरण गरिन्छ। त्यसपछि माटोको नयाँ चुलोमा आँपको दाउरा बालेर खीर पकाउने चलन छ। यो खीर र रोटी चढाएर छठी माताको सामान्य पूजा गरिन्छ। त्यसपछि ब्रतालुहरूले यो प्रसाद ग्रहण गर्छन् र यस दिनदेखि कठोर निराहार व्रतको सुरुवात हुन्छ, जुन पारण नगरेसम्म जारी रहन्छ।
तेस्रो दिन सन्ध्या अर्घ्य (कात्तिक शुक्ल षष्ठी)
पर्वको मुख्य दिन तेस्रो दिनलाई ‘सन्ध्या अर्घ्य’ भनिन्छ। यस दिन ब्रतालुहरू दिनभरि निराहार र निर्जला व्रत बस्छन्। साँझपख घरपरिवारका सदस्यहरूसँग मिलेर विभिन्न प्रकारका ठेकुवा, भुसुवा, फलफूल, नरिवल, उखु, केरा, मिठाई लगायतका प्रसादहरू बाँसको डालामा सजाएर नजिकको नदी, तलाउ वा जलाशयमा जान्छन्। अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिन्छ। यसबेला ब्रतालुहरूले पानीमा उभिएर सूर्य देवलाई अर्घ्य दिन्छन् र सन्तान तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्छन्। यस दृश्यले तराई मधेशका नदी र घाटहरूमा विशेष रौनक छाउँछ।
चौथो दिन बिहानी अर्घ्य (कात्तिक शुक्ल सप्तमी)
पर्वको अन्तिम दिनलाई ‘बिहानी अर्घ्य’ भनिन्छ। यस दिन बिहान ब्रतालुहरू पुनः नदी, तलाउ वा जलाशयमा गई उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। सूर्योदयको समयमा पुनस् पूजा अर्चना गरिन्छ। यसरी सूर्य देवको पूजा गरी ब्रतको समापन गरिन्छ। अर्घ्य दिएपछि प्रसाद वितरण गरिन्छ र त्यसपछि ब्रतालुहरूले प्रसाद ग्रहण गरी पारण गर्छन्। यस दिनदेखि छठ पर्व विधिवत रुपमा सकिन्छ।


